Sagun Khabar
बैतडीसहित सुदूर पहाडमा खर काट्ने चटारो 

बैतडी–बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ । हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार खर काट्ने चटारो बढेको सुर्नया गाउँपालिका ६ की स्थानीय कमला अवस्थीले बताइन् । उनले भनिन् ‘असोज पहिलो सातादेखि नै खर काट्ने क्रम शुरु भएको छ । अहिले गाउँघरका महिलाहरु खर काट्ने काममा व्यस्त रहेका छन् ।’

पहाडी जिल्लाका प्रत्येक ठाउँमा खर काट्ने चटारो बढेको डडेल्धुराको भागेश्वरकी कमला बोहराले बताइन् । बिहानदेखि बेलुकासम्म खर काट्ने काममा आफूहरु व्यस्त रहेको उनले सुनाइन् । उनले भनिन् ‘हिजोआज गाउँघरमा कामको व्यस्तता छ । खेतीपातीसंगै खर काट्ने चटारो बढेको छ ।’

Atrya hospital

हिउँदको समयमा घरपालुवा बस्तुभाउहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन रही आएको दार्चुलाका स्थानीय इन्द्रसिंह रावलले बताए । अहिले जिल्लाभरी खर काट्ने चटारो बढेको उनले बताए । गाउँघरमा महिलाहरु अहिले घर काट्ने काममा व्यस्त रहेका उनको भनाइ छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन् । कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ । 

भीर भएका खरफागलाहरुमा खर काट्दा निकै जोखिम समेत रहेको छ । खर काट्ने क्रममा लडेर बर्षेनी धेरैले अकालमै ज्यान समेत गुमाउने गरेका छन् । खर काट्नका लागि भीरपाखामा जानुपर्ने भएकाले जोखिम रहेको बैतडीको श्रीभावरकी मानमती साउँदले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update