Sagun Khabar
दार्चुलामा सुर्माभवानी जात्राको रौनक 

बैतडी –दार्चुलामा सुर्माभवानी जात्राको रौनक शुरु भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सुर्माभवानीको जात्रा श्रावण शुक्ल दशमीका दिनबाट शुरु भएको हो । सातदिन सम्म मनाइने यो जात्रा जिल्लाको अपिहिमाल गाउँपालिकाको क्षेत्ती, घाँजीर र सुर्मासरोवरमा यो जात्रा लाग्ने स्थानीय क्षेत्रबहादुर ठेकरेले बताए । उनले भने ‘हाम्रो जिल्लाको सबैभन्दा ठूलो र बढी दिन लाग्ने सुर्माभवानीको जात्रा शुरु भएको छ । जिल्लाको हिमाली क्षेत्रमा लाग्ने यो एक मात्र जात्रा हो । यसमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।’

यो जात्रा एघारौं शताब्दीबाट शुरु भएको जनश्रुती रहेको छ । सुर्माभवानी देवीलाई दार्चुलाको क्षेत्ती,घाँजीर र सुर्मासरोवरमा बसोबास गर्ने स्थानीयहरुले कुलदेवी रुपमा विश्वास गर्ने गरेका छन् । सुर्मा भवानीको जात्रा क्षेत्तीबाट शुरु हुँदै घाँजीर र सुर्मा सरोवरमा पुग्ने फेरी त्याहाँबाट फर्केर क्षेत्तीमा नै आएर टुंगिने गरेको अपिहिमाल गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले बताइन् । उनले भनिन् ‘हिमालको काखमा सुर्मासरोवर रहेको छ । सोही सरोवरमा माता सुर्माभवानी विराजमान रहेको जनविश्वास छ । प्राचीन कालमा हिमालयकी पुत्री पार्वती भएकाले सुर्मा भवानी पनि हिमालयकै काखमा रहेकाले देवी पार्वतीको रुपमा समेत पूजा गर्ने चलन रही आएको छ ।’

सुुर्मासरोवरको जात्रामा सहभागी हुने ब्रतालु श्रावण शुक्ल पूर्णिमका दिन सम्म चोखो बस्ने चलन रही आएको छ । क्षेत्तीबाट शुरु हुने जात्रामा घाँजीर सम्म महिलाले पनि जान पाउने र सुर्मा सरोवरमा भने पुरुषले मात्रै जाने चलन रही आएको ठेकरेले बताए । उनले भने ‘सुर्माभवानीको जात्रामा हामी हाम्रो परम्परागत भेषभुषामा सजिएर जान्छौं । विभिन्न चैत मार्फत सुर्माभवानीको गाथा गाउने गर्दछौं । सुर्माभवानीको उपासना गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।’

Atrya hospital

सुर्माभवानीको जात्रामा सहभागी हुने ब्रतालुहरुलाई चार भागमा विभाजन गर्ने गरिएको छ । ‘जात्रामा सहभागी भएका महिला पुरुषलाई उवादेशी, उनादेशी, जत्तोर र वाईदेशी अर्थात तिर्थालु भनेर छुट्याइन्छ ।  यसजात्रामा सहभागी क्षेत्तीगर्खा पुख्र्यौली घर भएका, ठेकरे, बोहरा,धामी, वैरे समुदायका यात्रुहरूलाई उवादेशी, घाजीरगर्खाका यात्रुहरूलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरी भित्रका यात्रुहरूलाई वाईदेशी भनिन्छ ।

सुर्माभवानीको सातदिनसम्म लाग्ने जात्रामा सातैदिन पूजा गर्ने अलगअलग परम्परा रहेको क्षेत्रसिंह ठेकरेले बताए । उनले भने ‘सुर्माभवानीको जात्रामा सातै दिन अलग अलग तरीकाले पूजा गर्ने गरिन्छ । श्रावण शुक्ल दशमीको दिन खण्डेश्वरीको क्षेत्तीबाट जात्रा शुरु हुन्छ । शुरुको दिन उनादेशी,उवादेशी,जात्तोर र वाईदेशी घाजिरमा जम्मा हुन्छन् । राती सुर्माभवानीको मण्डपमा पूजापाठ गर्ने गर्दछन् ।’

सुर्माभवानीको जात्रामा पहिलोपटक सहभागी भएकालाई बालोविरे र दोश्रोपटक सहभागी हुनेलाई बुढोबीरे भन्ने चलन रही आएको छ । जात्रामा सहभागी हुनेले निंगालाका लौरो बोक्ने चलन समेत रही आएको छ । 

सुर्माभवानी जात्रामा सहभागी हुने ऐतिहासिक श्रुतीमा आधारित भाडिखेल,ढुस्को,जागरम, भलौलो लगायतका गीतहरु गाउने गर्दछन् । यी श्रुतिमा आधारित सिर्जनमा भगवतीको पूजाअर्चना गर्ने गरिन्छ ।  

जात्राको दोश्रो दिन श्रद्धालुहरु क्षेत्तीसम्म पुग्छन् । यो जात्रामा जुत्ता लगाउने र छाता ओढ्न मनाही छ । क्षेत्तीमा पुगेपछि महिला श्रद्धालुहरुले सोही ठाउँमा बसेर पूजाअर्चना गर्ने गर्दछन् । तेश्रो दिन पुरुष श्रद्धालुहरु सुर्मासरोबर तर्फ लाग्ने गर्दछन् । सुर्मासरोबरमा जाने बेलामा बाजागाजा सहित जाने गरेको स्थानीयबासी जनकसिंह ठेकरेले बताए । उनले भने ‘जात्रा सातदिनको अवधिमा सुर्मा सरोबरमा पुगेर पूजा अर्चना गरी सातौदिन फेरी क्षेत्तिमा पुग्नुपर्ने हुन्छ । सुर्माभवानीको सुर्मासरोबरमा पुगेर पूजाआजा गरेमा मनले चिताएको पाइन्छ भन्ने जनविश्वास रही आएको छ ।’

यो जात्राको सुरुवात कहिलेदेखि सुरुभयो भन्ने एकिन प्रमाण नभएपनि सुर्माभवानीको चैतमा उल्लेख भएको प्रसङ्गबाट एघारौं शताब्दीबाट शुरु भएको मानिन्छ । सुर्मा सरोवर ६ हजार ५२३ मिटर उचाइमा पर्दछ । यो दार्चुला र बझाङ जिल्लाको सीमानामा पर्दछ । 

सुर्मासरोबर जात्रा प्रशस्त धार्मिक पर्यटनको सम्भावना बोकेको जात्रा हो । सुर्माभवानीलाई बडीमालिका जत्तिकै महत्व दिने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् । स्थानीय क्षेत्रसिंह ठेकेरेले भने ‘हिमालको काखमा रहेको अनुपम प्राकृतिक मनोरम रहेको यो ठाउँमा परम्परागत रुपमा जात्रा मनाइदै आएको छ । यसको प्रचारप्रसारमा ध्यान दिन सक्यो भने धेरै मात्रामा पर्यटकहरुलाई भित्र्याउन सकिन्छ ।’

अपिहिमालकै काखमा सुर्मासरोवर रहेकाले पनि हिमाल आरोहीहरुसंग पनि सुर्मासरोवरको बिशेषताका बारेमा बताउनुपर्ने स्थानीय संस्कृतिका जानकाहरुले बताएका छन् । सुर्मासरोवरमा पुगेमा मानसरोवर पुगे बराबरको पुण्य प्राप्ति हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update