बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका–६ स्थित देवझाडी धाम ओझेलमा परेको छ । देवझाडी धामभित्र गोकुलेश्वर महादेव मन्दिर, वेतालेश्वर मन्दिर र राम मन्दिर भएपनि संरक्षणको अभावमा ओझेलमा पर्दै गएको स्थानीय सुरेश श्रेष्ठले बताए ।
स्थानीहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको देवझाडी पछिल्लो समयमा दुव्र्यसनीहरुको अखाँडा बन्दै गएको उनले बताए । देवझाडी धामको संरक्षणमा कसैले ध्यान नदिँदा समस्या भएको श्रेष्ठले बताए ।
देवझाडी धाम क्षेत्रभित्र ८० बर्ष पुरानो गोकुलेश्वर महादेवको मन्दिर रहेको छ । सो मन्दिरमा शिवरात्रीको समयमा ठूलो मेला लाग्ने गर्दछ ।
यस्तै सोही धामभित्र पौराणिक वेतालेश्वर मन्दिर रहेको छ । उक्त मन्दिर मालिकार्जुन र निङ्गलाशैनी भगवतीसंग सम्बन्धित भएपनि पछिल्लो समयमा ओझेलमा पर्दै गएको छ । देवझाडी धाम क्षेत्रभित्र रहेका धार्मिक संरचनाहरु जीर्ण भएका छन् भने घेरबारको समेत व्यवस्था नहुँदा दुव्र्यसनीहरुको आँखडा बन्दै गएको छ ।
देवझाडी धामभित्र विवाह, ब्रतबन्ध जस्ता संस्कारहरु गरिने भएपनि पछिल्लो समयमा यो विभिन्न कारणले ओझेलमा परेको श्रेष्ठले बताए ।
पौराणिक चर्मण्यावती (चौलानी) नदी किनारमा रहेको धाममा उच्छृंखल क्रियाकलाप हुँदा समेत कसैको ध्यान जान सकेको छैन् । धार्मिक र पर्यटकीय हिसाबले निकै महत्व बोकेको देवझाडी धामको संरक्षणमा स्थानीय सरकारको समेत ध्यान जान सकेको छैन् ।
शिवरात्री, मकर संक्रान्ति, ऋषि पञ्चमी लगायतका पर्वहरुमा मेला लाग्ने क्षेत्रमा अहिले विकृति विसंगति भित्रिएको स्थानीयहरुको भनाइ रहेको छ ।