बैतडी –सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदैछ । हिजो गौराघरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर ब्रतालु महिलाहरुले पूजाआजा गर्ने गर्दछन् ।
बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् ।
ब्रतालु महिलाहरुले दिनभरी गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ । ब्रतालु महिलाहरुले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रुपमा रहेको बिरुडाले आफन्त तथा मान्यजनहरुको टाउको पुज्ने चलन रही आएको छ ।
यस्तै गौरापर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । यस्तै सामूहिक रुपमा देउडा खेल्ने चलन समेत रही आएको छ ।
पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ ।
यो बर्ष गौराको तिथीका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि केही ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी रहेको छ ।
यसैबीच गौरापर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि दुईदिन सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएको हो ।