बैतडी- डेंगी संक्रमणबाट बैतडीका एक युवाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ चनेताका २० वर्षिय विजय भट्टको भारतमा डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
भारतको नयाँ दिल्ली आजादपूरमा काम गर्दै आएका भट्टको बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको आफन्त गणेश दत्त भट्टले जानकारी दिए । उनका अनुसार तिन दिन पहिले विजयलाई उच्च ज्वरोले च्यापेको थियो । ज्वरो आएर बिरामी परेका उनलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो ।
डेंगी देखा परेर औषधि सेवन गरिरहेका उनलाई बिहीवार फेरि उच्च ज्वरो आएर आजादपूर स्थित फोर्टिज हस्पिटलमा भर्ना गरिएको थियो । बिहान हस्पिटल भर्ना गरिएका उनको दिउंसो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको आफन्तहरुको भनाई छ । उनि रोजगारीको सिलसिलामा ३ महिना पहिले मात्रै भारत गएका थिए ।