Sagun Khabar
बैतडीको त्रिपुरासुन्दरी क्षेत्रमा भदौ २१ गते गौरा मनाइने 

बैतडी –यो बर्षको गौरापर्व भदौ ७ गते कि २१ गते भन्ने बहस भइरहेका बेला बैतडीको त्रिपुरासुन्दरी क्षेत्रमा भदौ २१ गते गौरा मनाउने निर्णय भएको छ । त्रिपुरसुन्दरी भगवती मन्दिरमा स्थानीय जानकारहरुको भेला बसेर भदौ २१ गते नै गौरा पर्वका लागि उपयुक्त तिथी भएको निष्कर्ष निकालिएको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक गणेशदत्त लेखकले बताए । 

त्रिपुरासुन्दरी भगवतीका पूजारी गोविन्दप्रसाद लेखक, पूजारी हेमराज लेखक, पूर्व पूजारी विष्णुदत्त लेखक, मन्दिरका मुखिया, भण्डारे लगायतको उपस्थितीमा भएको भेलाले भदौ २१ गते गौरा मनाउने निर्णय गरिएको हो । 

Atrya hospital

त्रिपुरासुन्दरी भगवती मन्दिरको क्षेत्रभित्र अब भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते गौराष्टमी अर्थात अठ्यावली मनाइने भएको छ । 

गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारणा गर्ने परम्परा नरहेकाले भदौ २१ गते गौराका लागि उपयुक्त तिथी भएको उपप्रध्यापक लेखकले बताए । गौरा एकादशी र जनैपूर्णिमा गौरासंग जोडिएको ब्रत भएकाले त्यो भन्दा अघि दुबधागो धारण गर्ने परम्परा नरहेको उनले बताए । जनैपूर्णिमालाई स्थानीय भाषामा बोकाली पूर्णिमा भन्ने गरिएको र त्यो भन्दा पहिला गौरा मनाएको इतिहास नभएकाले भदौ २१ गते नै गौरा मनाउने निर्णय भएको बताइएको छ । 

गौरापर्व भाद्र शुक्ल वा भाद्र कृष्ण पक्षमा मात्रै पर्ने भएकाले अन्य तिथीमा गौरा पर्व हुनै नसक्ने आचार्य घनश्याम लेखकले दाबी गरे । सुदूरपश्चिममा अगस्ती उदय भदौ २३ गतेपछि मात्रै हुने भएकाले भदौ २१ गतेको गौरामा अगस्ती उदयको दोष नलाग्ने उनले बताए । 

यता नेपाल पञ्चाङ्ग निर्णायक समिति भदौ ७ गतेका लागि गौराको तिथी उल्लेख गरेको छ । भदौ २१ मा अगस्तोदयको दोष लाग्ने भन्दै भदौ ७ मा गौराको तिथी उल्लेख गरिएको हो । नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारले पनि भदौ ७ र ८ गते नै गौराको बिदा दिएको छ । 

यो बर्ष गौरा पर्वको तिथी भदौ ७ गते तय गरिएपछि कतिपय ठाउँमा भदौ २१ गते गौरा मनाउने निर्णय भएको छ भने कतिपय ठाउँमा भदौ ७ गते गौरा मनाउने निर्णय भएको छ । गौराको तिथीका बिषयमा ज्योतिषहरुबीच एकमत नभएपछि यो बर्ष दुई गौरा हुने निश्चित भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update