Sagun Khabar
बैतडीमा ३३ हजार ६ सय परिवार स्वास्थ्य बीमामा आवद्ध 

बैतडी –बैतडीमा ३३ हजार ६ सय ५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बैतडीमा २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएयता ३३ हजार ६ सय ५ परिवार यो कार्यक्रममा आवद्ध भएका स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालले जानकारी दिए । 

स्वास्थ्य बीमामा आवद्ध भएका परिवार मध्ये ३ हजार ४९६ परिवारले मात्रै शुल्क तिरेर कार्यक्रम आवद्ध भएका छन् भने अन्य परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको छ । जिल्लामा रहेका १ हजार ५५८ महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य बीमा बाफतको प्रिमियम ५० प्रतिशत संघीय सरकार र ५० प्रतिशत सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिर्ने भएकाले उनीहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको छ । 

Atrya hospital

यस्तै सरकारको निती अनुसार २६ हजार ७४० जेष्ठ नागरिक, ३ सय १ एच आइभी संक्रमित, ५४जना कुष्ठरोगी, १ हजार ४४ जना (क) वर्गका अपांगता भएका व्यक्ति र १ सय २२ जना एमडीआर टीबी भएका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको कार्यालय प्रमुख बडालले बताए । 

स्वास्थ्य बीमामा आवद्ध हुन चाहने नागरिकले ५ जना सम्मको परिवार सदस्यका लागि बार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्ने र त्यो बाफत एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरुले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेको बडालले बताए । 

बैतडीमा पछिल्लो समयमा स्वास्थ्य बीमामा आवद्ध हुने नागरिकको संख्या बढेपनि अझै अपेक्षाकृत रुपमा बढ्न सकेको छैन् । स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीको हकमा जिल्ला अस्पताल बैतडी र प्राथमिक स्वास्थ्य केन्द्र पाटन सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका छन् । यी संस्थाहरुमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरुमा पनि निशुल्क उपचार हुने गरेको कार्यालय प्रमुख बडालले बताए । 

गरिब नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एकमुष्ट ठूलो रकम उपचारका लागि तिर्न नसक्ने नागरिकका लागि यो निकै फाइदाजनक कार्यक्रम रहेको बडालले बताए । 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहहरुको पनि महत्वपूर्ण भूमिका हुने बडालले बताए । नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सके उनीहरुको उपचार सेवामा पनि पहुँच बढ्ने बडालले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update