Sagun Khabar
बैतडीको गुजर क्षेत्रमा भदौ २१ गते गौरा मनाउने निर्णय 

बैतडी –बैतडीको पाटन नगरपालिका –३ गुजर क्षेत्रमा भदौ २१ गते गौरा पर्व मनाउने निर्णय भएको छ । भदौ ७ कि २१ गते गौरा मनाउने भन्ने बिषयमा बहस भइरहेका बेला गुजर क्षेत्रमा २१ गते गौरा मनाउने निर्णय भएको स्थानीय शिक्षक गणेशदत्त पन्तले बताए । 

गुजरस्थित सहस्त्रलिङ्गको खलामा शनिबार बसेको सर्वपक्षीय भेलाले भदौ २१ गते नै गौरा पर्वको उपयुक्त तिथी हुने निष्कर्ष निकालेको हो । गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने प्रचलन नरहेकाले भदौ २१ गते गौरा पर्व मनाउने निर्णय भएको सहस्त्रलिङ्ग मन्दिरका पूजारी हरिदत्त पन्तले बताए । 

Atrya hospital

गुजर क्षेत्रमा बसोबास गर्ने पन्त, अवस्थी,भाट, बिष्ट र कोली समुदायका जानकारहरुको भेला बसेर भदौ २१ गते नै गौरा पर्व मनाउने निर्णय भएको पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले बताए । अधिकांश स्थानीयहरुको आवाज, ज्योतिष पण्डितहरुको भनाइबाट २१ गते उपयुक्त तिथी भएको निष्कर्ष निकालिएको उनले बताए । भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९गते नानीगौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते अठ्यावली मनाउने निर्णय भएको वडा अध्यक्ष भट्टले बताए । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौराको तिथी तय गरेकाले अहिले यो क्षेत्रका अधिकांश ज्योतिषहरुले त्यसमा असन्तुष्टी जनाइरहेका छन् । गौरा पर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै मनाइने पर्व भएको उनीहरुको दाबी छ । 

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने अगस्ती उदयको दोष हुने भएकाले भदौ ७ गते नै गौराको उपयुक्त तिथी भएको जनाएको छ ।  
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update