Sagun Khabar
जंगली जनावरबाट मकैबाली जोगाउनै मुस्किल 

बैतडी –मकै उत्पादनका लागि बैतडी पकेट क्षेत्र मानिएपनि जंगली जनावरबाट मकैबाली जोगाउन किसानहरुलाई धौ –धौ भएको छ । दिउँसो बाँदर र रातिको समयमा जंगली बँदेल, भालु, दुम्सी लगायतका जंगली जनावरबाट मकैबाली जोगाउन मुस्किल भएको दशरथचन्द नगरपालिका ८ की सुमित्रा चन्दले बताइन् । 

दिउँसोको समयमा बाँदरले खेतबारीमा लगाएको सबै बाली नष्ट गर्ने गरेको उनले सुनाइन् । बाँदरकै कारण स्थानीयहरुले खेत बाँझै छोड्न थालेका छन् । 

Atrya hospital

जिल्लाको सुर्नया गाउँपालिका ४ का भुवनबहादुर चन्दले रातदिन पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको बताए । दिनमा बाँदर र रातिको समयमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको उनले बताए । खेतमै टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको उनले बताए । उनले भने ‘मकैबाली जोगाउन मुस्किल भएको छ । बारीमा लगाएको मकै सबै खाइसकेको छ ।’

रातिको समयमा मात्रै आउने जंगली बँदेल अब दिउँसै बारीमा आउन लागेका पाटन नगरपालिका ३ ढुंगेलीका मोहन पन्तले बताए । बारीमा जंगली बँदेलले दिउँसै आएर मकैबाली नष्ट गरेको उनले बताए । उनले भने ‘जंगली बँदेलले रातिको समयमा मात्रै नभएर पछिल्लो समयमा दिउँसोको समयमा समेत मकै खाइरहेका छन् । बँदेलबाट मकैबाली जोगाउन मुस्किल भएको छ ।’

जिल्लाको पुर्चौंडी क्षेत्रमा पनि जंगली बँदेलले मकैबाली नष्ट गरिरहेको स्थानीय नरबहादुर महराले बताए । रातिको समयमा पहरा दिँदा समेत बाली जोगाउन नसकिएको उनले बताए । 

बैतडीका तल्लोसोराड, च्वाँगढ, पुर्चौंडी, पाटन, सुर्नया, दोगडाकेदार लगायत सबै ठाउँमा जंगली जनावरले मकैबाली नष्ट गरेको किसानहरुले बताएका छन् । रातिको समयमा पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको सुर्नया ४ का स्थानीय रामबहादुर महराले बताए । 

बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुने गरेको भएपनि पछिल्लो समयमा उत्पादनमा कमी आउन थालेको छ । जंगली जनावरले मकैबाली सखाप पार्ने गरेकाले उत्पादन घटेको हो । 
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update