Sagun Khabar
बाँदर धपाउन ‘गुलेली’समातेर दिनभर ड्युटी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाका अधिकांश स्थानमा बाँदरले बालीनाली नष्ट गर्दा स्थानीयहरु हैरान भएका छन् । बाँदरबाट बालीनाली जोगाउन मुस्किल भएपछि पछिल्लो समयमा खेत बाँझै छोड्नुपर्ने बाध्यता आएको दशरथचन्द नगरपालिका ८ का मोहनबहादुर चन्दले बताए । 

गएको एक दशकयता बाँदरले सताउन थालेको र पछिल्लो समयमा झन् आतंक बढेको उनको भनाइ छ । 

Atrya hospital

बाँदरले बारीमा लगाएको अन्नबाली सबै सखाप पार्न थालेपछि दशरथचन्द नगरपालिका ८ कापडीगाउँका बासिन्दा हातमा गुलेली समातेर दिनभर पहरा दिन थालेका छन् । जमीनमा लगाएको मकैबाली जोगाउन गुलेली समातेर दिनभर ड्युटी गर्दा समेत जोगाउन नसकिएको चन्दले बताए । हुलका हुल बाँदरले खेतपाती सबै नष्ट गरिसकेको उनले बताए । उनले भने ‘हामी गाउँका हरेक घरबाट कम्तीमा एकजना गुलेलीसहित ड्युटीमा बस्ने गरेका छौं । तर बारी जोगाउन सकिएको छैन् ।’

बिहान झिसमिसेसंगै बाँदर धपाउने ड्युटी शुरु हुने गरेको स्थानीय हरिनादेवी चन्दले बताइन् । गुलेलीसहित बिहानैदेखि बारीमा ड्युटीमा खटिँदा समेत बालीनाली जोगाउन नसकिएको उनले बताइन् । उनले भनिन् ‘सैयौंको संख्यामा बाँदर आउने गरेका छन् । खेतबारीमा लगाएको केही पनि भित्र्याउन पाइदैन् ।’

बाँदरकै कारण कापडीगाउँका अधिकांश खेतहरु बाँझै छन् । केही खेतमा मकैबाली लगाएको भएपनि जोगाउन धौ धौ भएको स्थानीय सुमित्रा चन्दले बताइन् । गुलेलीले हानेर बाँदरहरुलाई केही तर्साउन खोजिएपनि बारीमा आउन नछोडेको उनले बताइन् । पछिल्लो समयमा घरभित्रबाटै समेत बाँदरले अन्नपात लगेर खाने गरेको उनले बताइन् । उनले भनिन् ‘बाँदरका कारण धेरै जना यताबाट पलायन भइसके । हामी यता भएकाहरुलार्ई पनि जीवन जिउन सकस भइरहेको छ ।’

लटरम्म फलफूल फल्ने कापडीगाउँमा बाँदरले केही बाँकी नराख्ने गरेको स्थानीय गोदावरी चन्दले सुनाइन् । आफूहरुको पीडा सुनिदिने कोही नभएको उनको गुनासो छ । बाँदरकै कारण थातथलो छाडेर जानुपर्ने अवस्था आइसकेको उनले सुनाइन् । उनले भनिन् ‘बिहानदेखि ड्युटीमा खटिएर पनि बाली जोगाउन सकिएको छैन् । खेतमा गरिएको मिहनेत त्यतिकै खेर जाने गरेको छ ।’

दशरथचन्द नगरपालिकाका अधिकांश वडाहरुमा बाँदर आतंक छ । बाँदर नियन्त्रणका लागि स्थानीय सरकारले केही पहल नचालेको स्थानीयहरुको गुनासो रही आएको छ । 

तर यो बिषयमा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले भने बाँदर नियन्त्रणका लागि स्थानीय सरकारको एक्लो प्रयासले सम्भव नहुने भएकाले संघीय सरकारको ध्यानाकर्षण गराएको बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update