Sagun Khabar
बाँदरले मान्छेमाथि नै आक्रमण गर्न थालेपछि बैतडीका नागरिक त्रसित 

बैतडी –बालीनाली तहस गरिरहेका बाँदरहरुले पछिल्लो समयमा मानिसमाथि नै आक्रमण गर्न थालेपछि बैतडीका नागरिक त्रसित भएका छन् । बाँदरका कारण खेतबारी बाँझो छोड्न बाध्य भएका नागरिक बाँदरले आक्रमण गर्न थालेपछि त्रसित भएका हुन् । 

जिल्लाको सबैजसो स्थानमा बाँदर आतंक भएपनि दशरथचन्द नगरपालिकाको वडा नं १, ४, ५, ८, १० लगायतका स्थानमा बढी आतंक रहेको स्थानीयहरुले बताएका छन् । 

बाँदरले घरभित्र राखेका अन्न समेत खाने गरेको स्थानीय सुमित्रा चन्दले बताइन् । शुक्रबारमात्रै दशरथचन्द नगरपालिका ८ की कापडीगाउँकी भागरथी चन्दमाथि बाँदरले आक्रमण गरेको उनले बताइन् । अन्य स्थानीयहरु पनि नजिक हुँदा अप्रिय घटना हुन नपाएको उनले बताए । उनले भनिन् ‘बाँदरका कारण एक्लै बाटोमा हिड्न समेत डर लाग्न थालेको छ । बाँदरले मानिसमाथि नै आक्रमण गर्न थालेपछि निकै समस्या भएको छ ।’

Atrya hospital

बाँदरका कारण बालबालिकाहरुलाई विद्यालय पठाउन समेत डर लाग्न थालेको चन्दले बताइन् । बालबालिकाहरुलाई विद्यालय पठाउँदा बाँदरले कतिखेर आक्रमण गर्ने हो भन्ने डर लाग्न थालेको चन्दले बताइन् । उनले भनिन् ‘स–साना नानीबाबुहरुलाई विद्यालय पठाउन निकै डर लाग्ने गरेको छ । बाँदरले ठूलो मान्छेलाई समेत आक्रमण गर्ने गरेको छ । बालबालिकाहरुलाई झन् झम्टने गरेका छन् ।’

बाँदरका कारण पूरै खेत बाँझो छोड्नुपरेको दशरथचन्द नगरपालिका ५ की बिस्ना चन्दले बताइन् । बाँदरले बालीनाली सखाप पार्ने भएपछि स्थानीयहरुले खेत बाँझै छोड्न थालेका हुन् । पछिल्लो समयमा बाँदरहरुले मानिसलाई नै आक्रमण गर्न थालेपछि समस्या भएको उनले बताइन् । 

बाँदरका कारण धेरै मानिसहरुले बसाँइसराई गरिसकेको स्थानीय डम्मर टमाटाले बताए । खेतबारीमा लगाएको अन्नबाली सबै बाँदरले सखाप पार्न थालेपछि थातथलो छोडेर स्थानीयहरु पलायन भएका उनले बताए । 

बाँदर नियन्त्रणको माग गर्दै केही दिन पहिला स्थानीयहरु दशरथचन्द नगरपालिकामा समेत पुगेका थिए । बाँदरले आतंक मच्चाएपछि आफूहरुले नगरपालिकाको समेत ध्यानाकर्षण गराएको सुमित्रा चन्दको भनाइ छ । 

बाँदरले बारीमा केही बाँकी नराखेको स्थानीयहरुले बताएका छन् । बारीमा रहेको अन्न, फलफूल, तरकारी केही पनि बाँकी नराखेको स्थानीयहरुको भनाइ छ । 

बाँदरहरुले घरभित्रै पसेर समेत अन्नपात खानथालेपछि स्थानीयहरु त्रसित बनेका छन् । घरभित्रै पसेर बाँदरहरुले आक्रमण गर्न सक्ने भएकाले आफूहरु त्रसित बनेको स्थानीय तेजराम लोहराले बताए । उनले भने ‘बाँदरबाट अन्नपात मात्रै होइन् ज्यान जोगाउनै मुस्किल भइसकेको छ ।’

बाँदर नियन्त्रणका लागि स्थानीय सरकारबाट त्यस्तो केही गर्न नसकिने भएपछि संघीय सरकारको ध्यानाकर्षण गराएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । उनले भने ‘बाँदर आतंकको बिषयमा हामीले जिल्ला प्रशासनमार्फत गृहमन्त्रालय र वन मन्त्रालयलाई लेखेर पठाएका छौं ।’

बाँदरको आक्रमणबाट नागरिकहरु घाइते हुन सक्ने अवस्थालाई ध्यान दिएर रेबिज बिरुद्धको सुईहरु मगाएको नगर प्रमुख जोशीले बताए । सकेसम्म बाँदरको आक्रमणबाट बच्न आग्रह गरिएको र त्यस्तो समस्या भइहालेमा रेबिज पनि हुन सक्ने भएकाले सबै स्वास्थ्य संस्थामा सुईको व्यवस्थापन गर्ने तयारी गरेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update