Sagun Khabar
सुदूरपश्चिमको कानुन मन्त्रीमा नियुक्त भट्ट को हुन् ? 

बैतडी –सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्ट नियुक्त भएका छन् । गएको मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा बैतडी प्रदेश सभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी भएका थिए ।  

एमाले केन्द्रीय सदस्य समेत रहेका लिलाधर भट्टलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित भएका भट्ट सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका हुन् । कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा परी निधन भएपछि सो मन्त्रालय रिक्त रहेको थियो । 

Atrya hospital

मन्त्रीमा नियुक्त भएका भट्ट नेपाली कांग्रेसभित्र सादगी नेताको रुपमा परिचित रहेका छन् । राजनीति शास्त्रमा स्नातोकोत्तर गरेका भट्टले कानुन बिषयमा स्नातक गरेका छन् । २०१३ साल कार्तिक २३ गते बैतडीको देहीमाण्डौंमा जन्मेका भट्टले २०२७ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । 

नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका भट्टले २०३६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए । २०४६ सालको आन्दोलनमा समेत भट्टले सहभागिता जनाएका थिए । 

नेपाली कांग्रेसको संगठन विस्तारमा अहोरात्र खटिएका भट्ट नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेका नेताको रुपमा चिनिन्छन् । भट्ट २०५७ सालमा नेपाली कांग्रेस बैतडीको सभापति समेत बने । 

२०६४ सालको संविधान सभाको निर्वाचनमा भने पार्टीले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए । पछि उनी कांग्रेसकै संगठनमा आवद्ध भए । २०७८ सालमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस बैतडीको सभापतिमा पराजित भएका भट्ट प्रदेश सभा सदस्यमा भने निर्वाचित भएका थिए ।

मन्त्रीमा नियुक्त भएका भट्टले जनताले दिएको मतको कदर हुने गरेर आफूले काम गर्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update