Sagun Khabar
बैतडीको सिद्धपुर स्वास्थ्यचौकीले पूरा गर्यो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका आधार 

बैतडी –बैतडीको पाटन नगरपालिका १० स्थित सिद्धपुर स्वास्थ्यचौकीले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका आधारहरु पूरा गरेको छ । नेपाल सरकारले तयार पारेको किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण निर्देशिका २०७९ अनुसारका अधिकांश सूचकहरु पूरा भएका स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्र बोहराले बताए । 

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि आठओटा मापदण्ड र ४४ ओटा सूचक पूरा गर्नुपर्ने हुन्छ । स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री प्रमाणीकरणका लागि गरिएको अध्ययन अनुसार स्वास्थ्य संस्थाले ८८.६३ प्रतिशत अंक प्राप्त गरेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि गरिएको पूर्व प्रमाणीकरण अध्ययनमा स्वास्थ्य संस्थाले आधारहरु पूरा गरेको पाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

सिद्धपुर स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र आड्रा नेपालले सहयोग गरेको आड्रा नेपालका कार्यक्रम संयोजक राजीव यादवले बताए । 

किशोरकिशोरीमैत्री कक्ष व्यवस्थापनका लागि स्वास्थ्यचौकीलाई सहयोग गरिएको हो । किशोरकिशोरीहरुलाई उनीहरुको आवश्यकता अनुसारका स्वास्थ्य सेवा र परामर्श प्रदान गर्नका लागि अलगै कक्षको व्यवस्था गरिएको छ । त्यस्तो सेवा उनीहरुलाई गोपनियतासहित प्रदान गर्ने गरिएको स्वास्थ्यचौकीकी अनमी मीना महराले बताइन् । 

सिद्धपुर स्वास्थ्यचौकीले भौतिक संरचनाको अभावमा समेत किशोरकिशोरीहरुका लागि व्यवस्थित तरीकाले सेवा प्रदान गर्दै आएको छ । 

स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री प्रमाणीकरणका लागि वडाका तर्फबाट आवश्यक पहल गरिने वडा अध्यक्ष धनबहादुर कुँवरले बताए । पूरा हुन नसकेका सूचकहरु पूरा गर्नका लागि पहल गरिने उनले बताए । 

सिद्धपुर स्वास्थ्यचौकीलाई अबको तीन महिनापछि किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिने बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update