बैतडी –बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको छ । मंगलबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि मंगलबार जिल्लाको सदरमुकाम गढी,गोठलापानी, शाहिलेक क्षेत्रमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयको सहयोगमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।
पानीका ड्रम,पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फुलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले सरसफाइ गरिएको प्रमुख भट्टले बताए ।
साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।




