Sagun Khabar
बैतडी विमानस्थलमा डेढ बर्षदेखि हवाई उडान बन्द, करोडौंका संरचना अलपत्र 

बैतडी –बैतडी विमानस्थल पाटनमा डेढ बर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।  

तीन वर्ष अघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाई रहेको विमानस्थल  कालोपत्रे  गरिएको थियो । त्यसपछि पाँच करोड खर्च गरेर टर्मिनल भवनसमेत निर्माण गरिएको छ । तर विमानस्थल र टर्मिनल भवन अहिले प्रयोगविहिन अवस्थामा रहेका छन् ।  

धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले चार हजार रुपियाँ भाडा लिएर उडान भर्दै आएकोमा २०७७ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको  थियो । त्यसपछि यात्रुको अभाव देखाउँदै समिटले हवाई उडान बन्द गरेको थियो । हवाई उडान बन्द हुँदा आकस्मिक यात्रा गर्नुपर्ने नागरिकलाई समस्या भएको छ भने तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याउनुपर्ने बिरामीलाई समेत समस्या भएको छ । 

लामो समयपछि विमानस्थल कालोपत्रे भएपछि खुसी भएका यहाँका नागरिक विमानस्थलमा हवाई सेवा सञ्चालन नहुँदा निराश भएका छन् । सरकारले हवाई उडान सुचारु गर्नुपर्ने यहाँका नागरिकको माग रहेको स्थानीय दिनेश बिष्टले बताए ।

नागरिक उड्डयन प्राधिकरणले स्थापना गरेको यहाँको कार्यालय समेत बन्द छ । प्राधिकरणले खटाएका कर्मचारी कृष्णदत्त भट्ट सरुवा भएर अन्यत्र गएपछि पूर्णरूपमा ठप्प नै भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update