Sagun Khabar
बैतडीमा भाइरल हेपाटाइटिसका बिरामी भेटिए 

बैतडी –बैतडीमा भाइरल हेपाटाइटिसका बिरामी भेटिएका छन् । जिल्लाको पाटन नगरपालिका ४ चिल्लेपानीमा भाइरल हेपाटाइटिसका बिरामी भेटिएका जिल्ला अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डोबालले जानकारी दिए । 

एकै घरका तीन जना बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा भाइरल हेपाटाइटिस देखिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । भाइरल हेपाटाइटिस देखिएका तीन जना बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

सोमबार ३२ जनामा परीक्षण गर्दा थप १६ जनामा भाइरल हेपाटाइटिस भेटिएको भएपनि उनीहरुमा लक्षण भने देखिएका छैनन् । १० जनामा हेपाटाइटिस ए र ६ जनामा हेपाटाइटिस इ भेटिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

दूषित खानपान, दूषित खानेपानी लगायतको प्रयोगका कारण भाइरल हेपाटाइटिस हुने गरेको डोबालले बताए । भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, वान्ता हुने, खान मन नलाग्ने, जण्डीस हुने,पिसाबमा रगत देखिने लगायतका लक्षणहरु देखा पर्ने गरेका छन् । 

बिरामीहरुमा देखिएका लक्षणका आधारमा बिरामीको उपचार गर्ने गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । यो रोगबाट बच्नका लागि शुद्धीकरण गरेको पानीमात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

नगरपालिकाको वडा नं ४ मा भाइरल हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मूहानको पानी परीक्षणका लागि संकलन समेत गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाले संयुक्त रुपमा भाइरल हेपाटाइटिसका बिरामीहरुको खोजी गरिरहेको हो । भाइरल हेपाटाइटिस प्रकोपको रुपमा नफैलियोस भन्नका लागि बिरामीहरुको खोजी गरी उपचार गरिने महराले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update