Sagun Khabar
यो बर्षको गौरा पर्व कहिले ? 

बैतडी –सुदूरपश्चिममा मनाइने मुख्य पर्व गौराको तिथीमितिका बिषयमा अहिले निकै बहस भइरहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले भदौ ७ गते गौरा हुने बताएपछि यो क्षेत्रका अधिकांश ज्योतिषहरुले असन्तुष्टी जनाएका छन् । 

गौरा एकादशी नभइकनै गौराको ब्रत लिने परम्परा नरहेको भन्दै भदौ २१ गते गौराका लागि उपयुक्त तिथी भएको केही ज्योतिषहरुको दाबी रहेको छ । 

गौरा पर्वको तिथीमितिको बिषयलाई लिएर अहिले ज्योतिषहरु दुई भागमा विभाजित भएका छन् । भाद्र २१ गते अगस्ती उदय भइसक्ने र अगस्ती उदय भएपछि गौराको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको भन्दै केही ज्योतिषहरुले भदौ ७ गते गौरा मनाउनुपर्ने तर्क गरिरहेका छन् । अगस्ती उदय भएपछि गौरा पर्व मनाउन नहुने शास्त्रीय मान्यता रहेकाले भदौ ७ गते गौरा पर्व मनाउनु उपयुक्त रहेको रौलाकेदार मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । उनले भने ‘अगस्तोदयको दोषले गर्दा भदौ ७ गते गौरा मनाउन उपयुक्त हुने निष्कर्षमा पुगेका छौं ।’

Atrya hospital

धेरै ज्योतिषहरुले श्रावण शुक्ल पक्षमा गौरा हुन नसक्ने भन्दै भदौ २१ गते गौराको उपयुक्त तिथी रहेको बताएका छन् । गौरा एकादशी, जनै पूर्णिमाको ब्रत अघि गौरा अर्थात दुर्वाष्टमी नहुने शास्त्रीय र लौकिक परम्परा रहेको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा लिने र सोही दिने मानस नारीहरुले ब्रत बस्ने परम्परा रही आएकाले भदौ १० गते गौरा एकादशी रहेको उनले बताए । गौरा एकादशी र जनैपूर्णिमाको ब्रत अघि गौरा नहुने भएकाले भदौ ७ गते उपयुक्त तिथी नभएको उनले बताए । 

गौरा पर्वमा ब्रतालु महिलाहरुले एक प्रकारको बिशेष धागो अर्थात दुबधागो धारणा गर्ने भएकाले जनैपूर्णिमा भन्दा पहिला दुबधागो धारणा गर्ने परम्परा नरहेको लेखकले बताए । उनले भने ‘तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै महिलाहरुले दुबधागो धारण गर्छन् । जनैपूर्णिमा भन्दा पहिला दुबधागो धारणा गर्ने परम्परा छैन् ।’

गौरा सुदूरपश्चिमको मौलिक पर्व भएकाले अगस्ती उदयको आधार पनि यसै भूखण्डका आधारमा हुनुपर्ने आचार्य लेखकले बताए । सुदूरपश्चिम क्षेत्रमा भदौ २१ गतेपछि मात्रै अगस्ती उदय हुने शास्त्रीय वचन रहेको उनको दाबी छ । 

यस्तै दार्चुलाका अधिकांश क्षेत्रमा भदौ २१ गते गौरा मनाउने तयारी भएको ज्योतिष बीरभद्र जोशीले बताए । गौरा एकादशी अघि गौरा ब्रत नहुने भएकाले भदौ २१ गते गौरा मनाइने उनले बताए । 

यता पण्डित गणेशदत्त पन्तले भने भदौ ७ गते नै गौराको उपयुक्त तिथी भएको बताए । अगस्ती उदय भएपछि गौराको ब्रत नहुने भएकाले भदौ २१ गते अघि नै अगस्तोदय हुने उनको दाबी छ । 

गौराको बिषयमा ज्योतिषहरुको आ–आफ्नै दाबी रहेपछि यो बर्षको गौरा कुनै ठाउँमा भदौ ७ र कुनै ठाउँमा भदौ २१ गते निश्चितजस्तै देखिएको छ । गौरा पर्वको एक तिथी तय गरेर एकैदिन मनाउनुपर्ने दबाब रहेको भएपनि ज्योतिषहरुले आ–आफ्ना तर्कहरु दिइरहेका छन् । 

भदौ ७ गते गौरा मनाउनुपर्ने पक्षका ज्योतिषहरुले भदौ २१ गते अगस्ती उदयको दोष बताइरहेका छन् भने भदौ २१ गते गौरा मनाउनुपर्ने पक्षका ज्योतिषहरुले गौरा एकादशी, जनैपूर्णिमा अगाडि गौरा ब्रतको कुनै परम्परा र शास्त्रीय आधार नभएको बताइरहेका छन् । उनीहरुले अगस्त उदय भदौ २१ पछि हुने दाबी गरिरहेका छन् । 

गौराको तिथीमितिका बिषयमा ज्योतिषहरु नै दुई भागमा विभाजन भएपछि कुन ठाउँमा कहिले गौरा हुने भन्ने अहिले एकीन भइसकेका छैन् । आफ्ना क्षेत्रका संस्कृतिका जानकार र ज्योतिषहरुको तर्कका आधारमा गौरा पर्व हुने स्थानीयहरुले बताएका छन् । सकेसम्म एकै मितिमा गौरा पर्व मनाउनुपर्ने स्थानीयहरुको माग रहेको छ । 

भदौ ७ गते गौरा मनाउने पक्षका ज्योतिषहरुले भदौ ४ गते बिरुडापञ्चमी र भदौ ७ गते दुर्वाष्टमी परेको दाबी गरेका छन् । भदौ २१ गते गौरा मनाउनुपर्ने पक्षका ज्योतिषहरुले भदौ १८ गते बिरुडापञ्चमी र भदौ २१ गते दुर्वाष्टमी पर्ने बताएका छन् । लौकिक र शास्त्रीय दुवै आधारमा भदौ २१ गते नै दुर्वाष्टमी परेको ज्योतिष कृष्णानन्द अवस्थीले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update