बैतडी –बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्र उत्कृष्ट कार्यालय भएको छ । सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका ३५ ओटा कार्यालयमध्ये सुख्खा फलफूल विकास केन्द्र सतबाँझ कार्यसम्पादनमा उत्कृष्ट देखिएको हो ।
गत आर्थिक बर्षमा केन्द्रले सम्पादन गरेका कामहरुको आधारमा कार्यालय उत्कृष्ट घोषणा भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । कार्यसम्पादनमा उत्कृष्ट भएको केन्द्रलाई कृषि विकास निर्देशनालयकातर्फबाट प्रशंसा पत्र समेत प्रदान गरिएको छ । केही दिन पहिला धनगढीमा सम्पन्न भएको बार्षिका समीक्षा गोष्ठीमा कार्यालयलाई प्रशांसा पत्र प्रदान गरिएको हो ।
सीमित जनशक्ति हुँदाहुँदै पनि कार्यालयले फलफूल स्रोत केन्द्र विकासमा अतुलनीय कार्य गर्न सक्षम भएकाले केन्द्रलाई प्रशंसा पत्र प्रदान गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
सुख्खा फलफूल विकास केन्द्रले फलफूलका बिरुवाहरु उत्पादन गर्दै आएको छ । गत आर्थिक बर्षमा केन्द्रले ६० हजार बिरुवा उत्पादन गरेको प्राविधिक सहायक खड्काले बताए । ओखर, स्याउ, नासपाती, आरु, आरुबखडा,खुर्पानी, कागजीबदाम लगायतका बिरुवा उत्पादन गर्ने गरिएको खड्काले बताए ।
सुख्खा फलफूल विकास केन्द्रले हिउँदे फलफूलका बिरुवा उत्पादनका साथै किसानहरुलाई फलफूल खेतीसम्बन्धी प्राविधिक ज्ञान समेत दिँदै आएको छ ।
सुख्खा फलफूल केन्द्र सतबाँझमा ३ हेक्टर जमीनमा फैलिएको आफ्नै नर्सरी रहेको छ । पछिल्लो समयमा फार्मभित्र स्याउ उत्पादन समेत भइरहेको प्राविधिक सहायक खड्काले बताए । स्याउ उत्पादनका लागि समेत राम्रो मानिएको सतबाँझमा स्याउ फल्न छोडेको थियो । अहिले हावापानी सुहाउँदो जात रोपेपछि स्याउ उत्पादन हुन थालेको बताइएको छ ।
सुख्खा फलफूल विकास केन्द्रले गत आर्थिक बर्षमा बिरुवा विक्रिबाट २५ लाख ६८ हजार रुपैंया राजस्व समेत संकलन गरेको छ ।




