बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ स्थित सकार स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रममा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
शनिबार सम्पन्न भएको सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्यचौकी इन्चार्ज नरेन्द्र भट्टराईले संस्थाको आर्थिक, भौतिक तथा सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्वास्थ्यचौकी इन्चार्ज भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार स्वास्थ्यचौकीको गत आर्थिक बर्षको आयतर्फ ४ लाख १० हजार ३३२ रुपैंया, व्ययतर्फ ३ लाख ६७ हजार १५६ रुपैंया र बचत ४३ हजार १७६ रुपैंया रहेको छ ।
यस्तै स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा सम्पादन गरेका कामहरुको विवरण सरोकारवालाहरुलाई जानकारी गराइएको स्वास्थ्यचौकी इन्चार्ज भट्टराईले बताए ।
पोषणमैत्री स्वास्थ्य संस्था समेत घोषणा भइसकेको स्वास्थ्यचौकीले नेपाल सरकारका प्राथमिकताप्राप्त कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सञ्चालन गरिरहेको जनाएको छ । स्वास्थ्यचौकीमार्फत खोप कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व कार्यक्रम, समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग उपचार तथा नियन्त्रण कार्यक्रम र उपचारात्मक सेवा प्रदान भइरहेका स्वास्थ्यचौकी प्रमुख भट्टराईले बताए ।




