Sagun Khabar
बैतडीमा २६९ पानीका मूहान परीक्षण, १३६ मूहानमा दिसाका जिवाणु भेटिए 

बैतडी – बैतडीमा २६९ ओटा खानेपानीका मूहान परीक्षण गर्दा आधामा दिसामा पाइने जिवाणु पाइएको छ । जिल्लाका १० ओटै स्थानीय तहका खानेपानीका मूहान परीक्षण गर्दा दिसामा पाइने इ–कोली जिवाणु पाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

स्वास्थ्य कार्यालयले गएको महिना २६९ ओटा मूहानको पानी परीक्षण गर्दा १३६ ओटा मूहानमा दिसामा पाइने जिवाणु भेटिएको हो । नागरिकले उपभोग गर्ने खानेपानीका मूहानमा दिसामा पाइने जिवाणु भेटिएकाले पानीजन्य रोगहरुको जोखिम समेत बढ्दै गएको उनले बताए । 

बैतडी खुला दिसामुक्त जिल्ला घोषणा भएको भएपनि पानीका मूहानहरुमा भने दिसामा भेटिने जिवाणु भेटिएका छन् । कुनै न कुनै माध्यमबाट मानिसको दिसा पानीका मूहानमा मिसिने भएकाले पानीमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

Atrya hospital

अझै पनि खुला रुपमा दिसा गर्ने कार्य पूर्णतः बन्द नहुँदा समस्या भइरहेको छ । महिनावारी भएको बेला महिलाहरुले अझै शौचालय प्रयोग नगर्ने स्थिती कायमै रहेको छ । यस्तै शौचालयको ढल निकासहरु पानीका श्रोतहरुमा छोड्दा यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकाका ३४ ओटा मूहानको पानी परीक्षण गर्दा ११ ओटामा दिसामा पाइने जिवाणु भेटिएको छ । यस्तै पुर्चौंडीका ३० मध्ये १२,पाटन नगरपालिकाका २९ मध्ये १३, मेलौली नगरपालिकाका ३१ मध्ये १७ र पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४ ओटा मूहानमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । 

यस्तै शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०,सुर्नया गाउँपालिकाका २४ मध्ये १७, दोगडाकेदार गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ मध्ये १२ मूहानमा दिसाका जिवाणु भेटिएका छन् । 

मानिसले प्रयोग गर्ने पानीमा दिसाका जिवाणु भेटिएकाले झाडापखाला, आउँ, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम बढ्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

खानेपानीका मूहानमा दिसाका जिवाणु भेटिएपछि खानेपानी सुरक्षा योजना निर्माणको तयारी भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसंगको समन्वयमा स्वास्थ्य कार्यालयले योजना निर्माणको तयारी गरेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

जिल्लाका १० ओटै पालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको बैठक बोलाएर खानेपानी सुरक्षा योजना निर्माण गरिने उनले बताए । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update