Sagun Khabar
बैतडीमा जघन्य अपराध बढ्दै, एक बर्षमा १४ बलात्कारका घटना 

बैतडी –पछिल्लो समयमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढ्दै गएका छन् । विभिन्न कारणले आपराधिक घटनाहरु बढ्दै गएका प्रहरीको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षमा जिल्लाभरी १४ ओटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

प्रहरीमा दर्ता भएका १४ ओटा घटनाहरुको अनुसन्धान गरेर सबै अदालतमा पेश भइसकेका उनले बताए । १४ ओटा बलात्कारका घटना बाहिर आएका बेला ६ ओटा जबरजस्तीकरणी उद्योगका घटना भएका छन् । गत आर्थिक बर्षमा जिल्लाभरी जबरजस्तीकरणी उद्योगका ६ ओटा मुद्दा दर्ता भएका प्रहरी निरीक्षक जोशीले बताए । 

Atrya hospital

महिलामाथि हुने हिंसाका जघन्य घटनाहरु बढ्दै गएका अधिकारकर्मीहरुको भनाइ रहेको छ । विभिन्न आर्थिक, सामाजिक र अन्य कारणले महिलामाथिहरु बलात्कारजस्ता जघन्य अपराधहरु हुने गरेको अधिकारकर्मी डम्मरी भट्टले बताइन् । उनले भनिन् ‘हाम्रो समाजमा बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएका छन् । यो संग आर्थिक, सामाजिक लगायतका कारणहरु जोडिएका छन् ।’

जिल्लाको पाटनमा रहेको महिला सुरक्षित आवास गृहमा समेत विभिन्न कारणले हिंसामा परेका महिलाहरु आश्रयका लागि आउने भट्टले बताइन् । महिलामाथि हिंसा गर्नेहरुलाई कानुनी कारबाहीको व्यवस्था भएको भएपनि हिंसाका घटनामा भने कमी आउन सकेको छैन् । 

जथाभावी मदिराको बेचबिखन र सेवन, लागु औषधको प्रयोग लगायतका कारणले समेत महिलामाथि हुने हिंसा बढ्दै गएका हुन सक्ने जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार बैतडीमा गत आर्थिक बर्षमा ३ ओटा बहुविवाहका मुद्दा दर्ता भएका छन् । बहुविवाहलाई कानुनतः दण्डनीय कार्य मानिएको भएपनि यस्ता अपराधहरु अझै भइरहेका छन् । 

महिलामाथि हिंसा भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ६४ ओटा ठाडो निवेदन परेका थिए । ती सबैमा आवश्यक कारबाही गरेर किनारा लगाइएको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update