Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा मानसिक रोगसम्बन्धी शिविर सञ्चालन हुने 

बैतडी –जिल्ला अस्पताल बैतडीले मानसिक रोगीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने भएको छ । भोलि (शनिबार) अस्पतालमा मानसिक रोगसम्बन्धी शिविर सञ्चालन हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । 

विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा शिविर सञ्चालन हुने र यसका लागि आवश्यक तयारी पूरा भएको अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए । शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने उनले बताए । 

शिविरमा मानसिक रोग बिशेषज्ञ डा. निराजन भट्टराई सेवा दिने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले जानकारी दिए । शिविरमा आएर सेवा लिनका लागि मानसिक समस्या भएका बिरामीहरुलाई आग्रह गरिएको उनले बताए । 

पछिल्लो समयमा मानसिक रोगहरु जनस्वास्थ्यको समस्याको रुपमा देखिएकाले स्थानीय नागरिकलाई सहज होस् भनेर बिशेषज्ञ शिविरको आयोजना गरिएको डोबालले बताए । शिविरमा बिरामीको चेकजाँचका साथै आवश्यक परामर्शसमेत दिइने उनले बताए । 

निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिने बताइएको छ । मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर हरेक महिना शिविरको आयोजना गर्ने तयारी भएको डा. श्रेष्ठले बताए । उनले भने ‘मानसिक समस्या भएको बिरामीहरुलाई लक्षित गरेर हामीले शिविरलाई प्रत्येक महिना सञ्चालन गर्ने तयारी गरेका छौं । मानसिक समस्या भएकाहरुलाई जिल्ला अस्पतालमा आएर सेवा लिन समेत आग्रह गर्दछौं ।’
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update