बैतडी –बैतडीको मेलौली नगरपालिका २ सलेनाकी लक्ष्मी भट्टको जीवन रक्षाका लागि सञ्चालन गरिएको अभियान अन्तर्गत अहिले सम्म साढे चार लाख रकम संकलन भइसकेको छ ।
विगत सात बर्षदेखि मृगौला पीडित लक्ष्मीको उपचारमा आर्थिक अभाव भएपछि अभियान्ता महेशदत्त भट्टको अगुवाईमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन भइरहेको हो । लक्ष्मीको दुवै मृगौला फेल भएपछि गएको ४ बर्षदेखि नियमित रुपमा डाइलासिस गर्ने कार्य भइरहेको छ । पछिल्लो समयमा उनको उपचारमा आर्थिक अभाव भएपछि उनको जीवन रक्षाका लागि अभियान सञ्चालन गरिएको हो ।
सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियान अन्तर्गत अहिले सम्म ४ लाख ५१ हजार १०७ रुपैंया संकलन भएको अभियान्ता भट्टले बताए ।
लक्ष्मीको उपचारमा ७० लाख बढी खर्च भइसकेको छ भने अहिले बीर अस्पतालमा उपचार भइरहेको उनका छोरा धनी भट्टले बताए । गएको चार बर्षदेखि नियमित रुपमा सेती प्रादेशिक अस्पतालमा डाइलासिस गराइरहेकी लक्ष्मीको स्वास्थ्यमा थप जटीलता आएपछि अहिले बीर अस्पतालमा उपचार भइरहेको हो । भट्टले भने ‘अहिले आमाको स्वास्थ्य अवस्था निकै जटिल भएको छ । अप्रेशनका लागि काठमाण्डौं ल्याएका छौं ।’
दुवै मृगौला खराब भएपछि मात्रै लक्ष्मीलाई मृगौला सम्बन्धी समस्या रहेको कुरा थाहा भएको भट्टले बताए । नेपाल तथा भारतका कैयौं अस्पतालमा पुर्याउँदा समेत रोग प त्ता नलाग्दा अहिलेको अवस्था सिर्जना भएको उनले बताए । उनले भने ‘आमाको प्राण रक्षाका लागि हरसम्भव प्रयास गरिरहेका छौं । अहिले सहयोगी मनहरुले समेत सहयोग गरिरहेका छन् ।’
मृगौला पीडित लक्ष्मीको उपचारमा सहयोग होस र उनको मृगौला प्रत्यारोपणका लागि समेत सहयोग पुगोस भनेर अभियान सञ्चालन गरिएको अभियान्ता महेशदत्त भट्टले बताए । उनले भने ‘आपत परेको बेला सहयोग गर्नु मानवीय धर्म हो । त्यसैले लक्ष्मी भट्टको परिवार समस्यामा परेकाले हामीले अभियान सञ्चालन गरेका छौं । यसमा सबैले सहयोग गरिरहनु भएको छ ।’
उपचारमै व्यक्तिगत सम्पत्ति सबै सकिएपछि उपचारका लागि सामूहिक अपिल गरिएको लक्ष्मीका छोरा धनीले बताए । उनले भने ‘आमाको उपचारमा सबै सम्पत्ती सकिएको छ । तर अझै स्वस्थ हुनु भएको छैन् । आमाको प्राण रक्षाका लागि सबैसंग आग्रह गरिरहेका छौं ।’
आर्थिक अभावमा कसैले पनि मृत्युवरण गर्ने अवस्था सिर्जना नहोस् भन्नका लागि आफूले अभियान सञ्चालन गर्ने गरेको अभियान्ता भट्टले बताए । आर्थिक अवस्था कमजोर भएकाहरुको जिविकोपार्जन र उपचारका लागि २३ ओटा अभियान सञ्चालन गरिसकेको भट्टले बताए । अभियानमा सहयोगी महानुभावहरुले सहयोग गर्दै आइरहेका छन् ।





