Sagun Khabar
मकैबाली जोगाउन रातभरी पहरा 

बैतडी –बैतडीका अधिकांश ठाउँका किसानहरु मकैबाली जोगाउन रातभरी जाग्राम बस्न थालेका छन् । जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि टहरा बनाएर मकैबाली जोगाउने प्रयास गरिएको स्थानीय जयराज भट्टले बताए । 

मकैमा भर्खर लाग्न थालेपछि खेतमै टहरा बनाएर पहरा दिन थालिएको सुर्नया गाउँपालिका ६ का किसान मुरलीप्रसाद अवस्थीले बताए । रातिको समयमा बारीमा लगाएको मकै जंगली बदेंलले नष्ट गर्न थालेपछि बारी छेउमै टहरा बनाएर उनले पहरा दिइरहेका हुन् । पहरा दिएपनि जंगली बदेंलले मकैबाली नष्ट गर्न छोडेको छैन् । किसानहरुले टहरामा सुतेको मौका छोपेर जंगली बदेलले मकैबाली नष्ट गर्ने गरेको किसानहरुले बताएका छन् । अवस्थीले भने ‘मकैबालीलाई जोगाउन रातभर पहरा दिएपनि जोगाउन सकिएको छैन् । दिनदिनै बथानमा आउने जंगली बदेंलले मकैबाली नष्ट गरिसके । यो बर्ष भोकमरी हुने चिन्ताले सताएको छ ।’

Atrya hospital

पुरचौडी नगरपालिकाका पनि धेरै स्थानमा जंगली बँदेलले मकैबाली नष्ट गरेको स्थानीयबासी लालबहादुर भण्डारीले बताए । उनले भने ‘नगरपालिकाको महादेवस्थान,बुडदा लगायतका क्षेत्रमा जंगली बदेलले मकैबाली नष्ट गरेको छ । हामीले रातभर पहरा दिने गरेको भएपनि मकैबाली नष्ट गरेको छ ।’

जिल्लाका अधिकांश लेकाली क्षेत्रमा लगाएको मकैबाली जंगली बँदेलले नष्ट गर्न थालेपछि किसानहरु हैरान भएका छन् । मकैमा घोगा लाग्ने बेलादेखि बँदेलले सताउन थालेपछि किसानहरुलाई समस्या भएको हो । 

जिल्लाको तल्लोसोराड क्षेत्रका अधिकांश स्थानमा पनि जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । 

बारीमा लगाएको मकै दिउँसो बाँदर र राति जंगली बँदेलबाट जोगाउन मुस्किल भएको सुर्नया गाउँपालिका ४ का स्थानीय भानबहादुर चन्दले बताए । उनले भने ‘दिनरात पहरा दिँदा समेत मकैबाली जोगाउन निकै मुस्किल भएको छ । जंगली जनावरका कारण मकैबाली जोगाउन धौ धौ भएको छ ।’

बैतडीमा मकै मुख्य खाद्यबालीको रुपमा रहेको भएपनि पछिल्ला केही बर्ष यता लगातार रुपमा जंगली बदेलले नष्ट गर्न थालेपछि किसानहरु हैरान भएका छन् । जंगली जनावरहरुको बासस्थान लगातार रुपमा नष्ट हुन थालेपछि जंगली जनावर बारीमा पस्न थालेको वनअधिकारकर्मीहरुले बताएका छन् । 

जिल्लामा १४ हजार ९ सय हेक्टर क्षेत्रफल जमीनमा मकैखेती गरिदै आएको छ । लगातार रुपमा जंगली बदेलले मकैबाली नष्ट गर्नथालेपछि पछिल्ला केही बर्ष यता मकैबाली उत्पादनमा कमी आउन थालेको छ । बैतडी मकै उत्पादनका लागि पकेट जिल्ला मानिएको भएपनि बाँदर, बँदेल जस्ता जंगली जनावरले मकैबाली नष्ट गर्ने गरेकाले किसानहरु हैरान भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update