बैतडी - सुदूरपश्चिम सरकारले पाँच महिनापछि पूर्णता पाउने भएको छ । नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् ।
नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको आज साँझ ४ बजेट शपथ ग्रहण हुने जानकारी दिए । यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि रिक्त रहेको छ ।
गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको छ । सो रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीभित्र छलफल थालेका छन् ।
आजै नाम टुङ्गाएर शपथ ग्रहण गराउने मुख्यमन्त्रीको तयारी छ । नेपाली काँग्रेस स्रोतका अनुसार बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्टको नाम चर्चामा रहेको छ । बैतडी प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्ट नेपाली कांग्रेसका पुराना नेता हुन् ।




