Sagun Khabar
बैतडीको सुर्नयामा सार्वजनिक सुनुवाई सम्पन्न 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गत आर्थिक बर्षमा गाउँपालिकाले सम्पादन गरेका कामकारवाही र सेवा प्रवाहका बिषयमा नागरिकलाई जानकारी दिनका लागि सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । 

आइतबार सम्पन्न सार्वजनिक सुनुवाईमा नागरिकले उठाएका प्रश्नको जनप्रतिनिधि तथा कर्मचारीहरुले जवाफ दिएका थिए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा जवाफ दिँदै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले सुर्नया सरकारलाई नागरिकमैत्री बनाउन आफू लागि पर्ने बताए । सार्वजनिक सुनुवाईमा नागरिकले उठाएका प्रश्नले सरकारलाई जवाफदेही र पारदर्शी बनाउन सहयोग पुगेको भन्दै उनले आगामी दिनमा सार्वजनिक सुनुवाई निरन्तरता दिने बताए । 

आफूहरु जनताका प्रतिनिधि भएको बताउँदै अध्यक्ष कुँवरले सरकारका काममा खबरदारी गर्न सुर्नयाबासीलाई आग्रह गरे । 

यस्तै सार्वजनिक सुनुवाईमा जवाफ दिने क्रममा उपाध्यक्ष मञ्जु बोहराले सुर्नयाको विकासका लागि सबै नागरिकसंग हातेमाले गरेर अघि बढ्ने बताइन् । गाउँपालिकाबाट सञ्चालित योजनाहरुको अनुगमन गरेर काम अनुसारमात्रै भुक्तानी भएको उनले दाबी गरिन् । 

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले गाउँपालिकालाई सुशासनको बाटोमा हिडाउन सबैले सहयोग गर्नुपर्ने बताए । 

सार्वजनिक सुनुवाईमा नागरिकले गाउँपालिकाको सेवा प्रवाह, विकासे योजनाको कार्यान्वयन, भ्रमण खर्च लगायतका बिषयमा जिज्ञासा राखेका थिए । 
Suranya 11689561107.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update