बैतडी- बैतडीको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । लामो समय देखि बसपार्कको काम अलपत्र परेको हो । आर्थिक बर्ष २०६७÷०६८मा निमार्ण सुरु गरिएको बसपार्क अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाएको भए पनि समयमै बसपार्क निर्माणको काम सम्पन्न नहुँदा स्थानीयवासी समेत निराश बनेका छन् ।८ ओटा बस र ४ ओटा जिप एकैपटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र परेको हो ।
पाटन नयाँ सहर आयोजना कार्यालयद्वारा संचालन गरि बसपार्क निर्माण कार्य सुरु गरिएको भएपनि बसपार्क निर्माणको काम अझै सम्पन्न नभएको स्थानीय अमर भट्टले बताए । अहिले बसपार्क निर्माण सम्पन्न गर्न ढिलाई भएकोले अव्यवस्थित रुपमा बजारमै पार्किङ गरिदा दुर्घटनाको जोखिम समेत बढेको उनले बताए ।
शुरुमा बजेटेको अभाव, संघीयतापछि कार्यालय केही समय संघ र केही समय प्रदेश मातहत रहँदाको अन्योल र कोभिड लगायतका कारणले बसपार्क निर्माणमा ढिलाइ भएको पाटन नयाँ सहर आयोजना कार्यालयको दाबी छ। तर, एउटै बसपार्क लामो समय सम्म निर्माण कार्य पूरा नहुँदा स्थानीयवासी आक्रोसित भएका छन ।
बनेका संरचना जिर्ण हुन थालेका छन् । १३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्क अन्तर्गत ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम बाँकी नै छ । अहिले बसपार्क अन्तर्गत काउन्टर भवन, आरसीसी वाल र आरसीसी बाटो को निर्माण कार्य भैरहेको छ । त्यसका लागि प्रमोद कन्सट्रक्सनलले भ्याट सहित २० लाख ४३ हजारमा निर्माणको जिम्मा पाएकोे र केहि दिनमै काम सम्पन्न गर्ने बताएका छन ।
बसपार्क निर्माण कार्यअन्तर्गत अपांगमैत्री शौचालय, बस र जिपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन लगायतका संरचना निर्माण गरिने उल्लेख भए पनि अहिले निर्माण सम्पन्न नहुदा बनेका संरचना समेत जिर्ण हुन थालेका छन ।
नयाँ सहरको रुपमा रहेको पाटनमा १ लाख मानिसलाई बसोबासको व्यवस्था गर्ने सम्मको योजना रहेको थियो । सोही योजना अन्तरगत बसपार्क निर्माणको काम सुरु गरिएको भए पनि बसपार्क अलपत्र छ । निर्माण कम्पनीको ढिला सुस्तीका कारण यो अबस्थामा बसपार्क पुगेको स्थानीयको आरोप छ।
यता पाटन नगरपालिकाले भने निर्माण कार्य छिटो गर्न ठेकेदार संग छलफल चलिरहेको र सम्बन्धित पक्षलाई दबाब दिने काम निरन्तर भैरहेको बताउने गरेको छ । बसपार्क निर्माणमा हालसम्म २ करोड भन्दा बढी रकम खर्च भएको बताइन्छ । तर निर्माण कार्यले अझै पूर्णता पाएको छैन् ।




