बैतडी- बैतडी भित्र रहेका खानेपानीका मुहानहरूमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । खानेपानीका मुहानहरूमा परीक्षण गर्दा दिशामा हुने ‘कोलिफर्म’ कीटाणु फेला परेको हो ।
स्वास्थ्य कार्यालय बैतडीले नमूना संकलन तथा परीक्षण गर्दा कतिपय खानेपानीका मुहानहरुमा कोलिफर्म कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए । संकलन गरिएको नमूना मध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म कीटाणु फेला परेको उनले बताए ।
दशरथचन्द नगरपालिका ११, पुर्चौडीमा १२, पाटनमा १३,मेलौलीका १७ खानेपानीका मुहानमा केलिफर्म कीटाणु फेला परेको छ। यस्तै पञ्चेश्वरका १४, शिवनाथका १२, सिगासका १०, सुर्नयाका १७, दोगडाकेदारको १८ र डिलाशैनि गाउँपालिकाका १२ ओटा पानीका मुहानमा कोलिफर्म कीटाणु भेटिएको हो ।
नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । मुहान सफा गर्नुपर्ने, शुद्धिकरण गरेर मात्रै पानी पिउन आग्रह गरिएको छ ।
दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, लगायतका रोगहरुको लाग्ने भन्दै चिकित्सकहरुले मुहानहरुको सरसफाईमा ध्यान दिएर पानी उमालेर र फिल्टर गरेर मात्रै पिउन सुझाएका छन् ।




