बैतडी –बैतडीमा बर्षा तथा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । बिहीबार पानीसंगै आएको हावाहुरीले सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको सुर्नया ६ का स्थानीय गणेशदत्त अवस्थीले बताए ।
घोगा लाग्ने तयारीमा रहेका मकैका बोट हावाहुरीले ढलेर नष्ट भएका उनले बताए । सुर्नया गाउँपालिका वडा नं ६ को खर्काधार, तिमुनी, मौरभटुन्या, चौभके लगायतका स्थानमा हावाहुरीले मकैबालीमा बढी क्षति पुर्याएको उनले बताए ।
यस्तै जिल्लाका अन्य ठाउँहरुमा समेत हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । हावाहुरीले मकैबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा हरेक बर्ष क्षति हुन थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
हावाहुरी र बर्षाको प्रभावका साथै वन्यजन्तुले समेत मकैबालीमा व्यापक क्षति पुर्याउने गरेको स्थानीय भानुभक्त अवस्थीले बताए । मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति हुन थालेपछि किसानहरु पेशाप्रति नै रुष्ट भएका उनको भनाइ छ ।
मकैबालीमा जंगली जनावर र प्राकृतिक हिसाबले क्षति हुन थालेपछि धेरैले मकैबाली लगाउन समेत छोडेका छन् ।
बैतडी मकै जोन क्षेत्र भएपनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ । मकैबालीमा विभिन्न जंगली जनावर र विभिन्न प्रकोपले क्षति पुग्दै आएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए ।
बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ । तर जंगली जनावर बाँदर, बँदेल लगायतबाट पनि मकै जोगाउन मुस्किल भएको किसानहरुले बताएका छन् ।




