बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले खरीद गरेको ब्याक लोडर अझै गाउँपालिकामा ल्याइएको छैन् । ५४ लाखमा खरीद गरेको ब्याक लोडर खरीद गरेको एक महिनामै बिग्रिएको थियो । सो मेसिन ३ महिनादेखि धनगढीमै थन्किएको छ ।
ब्याक लोडर मर्मतका लागि धनगढीमा पुर्याइएको भएपनि गाउँपालिकाले अझै पालिकामा ल्याएको छैन् । कम्पनीले ब्याक लोडर मर्मत गरेको भएपनि गाउँपालिकाले ल्याउन मानेको छैन् ।
विक्रेता कम्पनीले आफूहरुलाई कमसल मेसिन दिएकाले मर्मत गरिएको मेसिन पालिकामा नल्याएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । खरीद गर्ने बेला भने जस्तो मेसिन नदिएर पालिकालाई विक्रेताले झुक्याएको उनको आरोप छ । भने अनुसारको मेसिन नभएकाले आफूहरुले त्यो मेसिन फिर्ता गर्नुपर्ने भनेको अध्यक्ष जोशीले बताए ।
यता ब्याक लोडर खरीद प्रक्रियाका बिषयमा जनप्रतिनिधिहरु नै अनविज्ञ रहेको बताइरहेका छन् । ब्याक लोडर खरीदका बिषयमा आफूलाई कुनै जानकारी नभएको गाउँपालिकाका उपाध्यक्ष भगीरथ बोहराले बताए ।
गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले ब्याक लोडर खरीद गर्ने निर्णय भएको बैठकमा आफू अनुपस्थित रहेको बताए । मेसिन बिग्रेपछि त्यो मेसिन फिर्ता गर्नुपर्ने आफूले भनेको उनले बताए । खरीदका बिषयमा पनि आफूसंग कुनै सल्लाह नभएको प्रवक्ता भट्टको भनाइ छ ।
ब्याक लोडर खरीद गरेको एक महिनामै बिग्रिएपछि गाउँपालिकाको आलोचना भइरहेको छ । कमीसनको खेलमा मेसिन खरीद गरेको आरोप समेत लाग्न थालेको छ ।




