Sagun Khabar
बैतडीको सुर्नया –५ वडा सदस्य र स्थानीयबीच कुटाकुट, सामाजिक सञ्जालमा भिडियो भाइरल 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ५मा वडा सदस्य कर्णबहादुर बिष्ट र स्थानीयबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सुर्नया गाउँपालिकाको वडा नं ५ रडीगाउँमा योजनाको हिसाबका बिषयमा वडा सदस्य बिष्ट र अन्य स्थानीयबीच विवाद भएको देखिएको छ । 

विवादपछि वडा सदस्य बिष्ट हातपात गर्न तम्सिएका भिडियोमा देखिएको छ । उनको यो कार्यशैलीको अहिले व्यापक आलोचना भइरहेको छ । जनप्रतिनिधि नै यसरी कुटपीटमा उत्रिनु नराम्रो भएको भन्दै आलोचना भइरहेको हो । 

महिला समुहबाट निर्माण गरिएको सिँचाइ पोखरी योजनाको बिषयमा विवाद हुँदा वडा सदस्य बिष्ट कुटपिट गर्न उत्रिएका  हुन् । उनले अशोभनीय रुपमा गालीगलौज समेत गरेका छन् । 

सिँचाइ पोखरी योजना निर्माणको साढे चार लाख आफूले वडा सदस्य बिष्टलाई बुझाएको तर आफूहरुको खर्च भएको रकम नदिएको उपभोक्ता समिति अध्यक्ष कलावती बिष्टले आरोप लगाइन् । 

योजनाको हिसाबकिताब माग्दा आफूहरुमाथि वडा सदस्य कुटपीटमा उत्रिएका अध्यक्ष बिष्टले बताइन् । 

यता वडा सदस्य कर्णबहादुर बिष्टले आफूमाथि हातपात भएको बताएका छन् । आफूमाथि हातपात गरेकाले आफू बाध्य भएर प्रतिकारमा उत्रेको उनले बताए । आफूले प्रहरीचौकीमा निवेदन समेत दिएको वडा सदस्य बिष्टले बताए । आफूले योजनामा कुनै रकम नमागेको उनको दाबी छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update