Sagun Khabar
बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु 

बैतडी –बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० बर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ बर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ बर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् । 

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । बाजेको कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ । 

रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा रहेका थिए । नातीमाथि कुटपीट गर्ने गणेश साउँदलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरी निरीक्षक जोशीले जनाए । 

साउँदले आफ्ना नातीहरुमाथि किन कुटपीट गरे भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । तर गणेश साउँद मानसिक बिरामी रहेका पारिवारिक श्रोतले जनाएको छ । 

बाजेको कुटाइबाट एक नातीको मृत्यु र अर्को नाती गम्भीर घाइते भएपछि अहिले मुडेलीधार गाउँ शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update