Sagun Khabar
सुनसान दुदिलाखान 

बैतडी –कुनै बेला जिल्लाका धेरै चहलपहल हुने बजारमध्येको हो दुदिलाखान ।  जयपृथ्वी राजमार्ग अन्तर्गत सडक छेउमै रहेको दुदिलाखान बजार अचेल सुनसान छ । सडक छेउमै रहेका पसलहरु जीर्ण भइसकेका छन् । 

जिल्लाको सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाको सिमाना पर्ने बजार दुदिलाखानबाट ५०को दशकमा भने निकै चहलपहल हुने गरेको थियो । 

Atrya hospital

जयपृथ्वी राजमार्ग विस्तार नभएको समयमा सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका स्थानीयको मुख्य बजारको रुपमा दुदिलाखान बजार रहेको थियो । सिगास गाउँपालिकाको गाँजरीतर्फ र जयपृथ्वी राजमार्ग पनि विस्तार भएपछि दुदिलाखानमा व्यापार व्यवसाय घटेको थियो । 

अहिले सबै ठाउँमा सडक पुगेपछि कुनै बेलाको चहलपहल हुने बजार दुदिलाखान सुनसान बनेका उतिबेलाका व्यापारी परमानन्द अवस्थीले बताए । उनले भने ‘च्वाँगढ क्षेत्रमा सडक विस्तार नहुँदा र जयपृथ्वी राजमार्ग विस्तार नहुँदा दुदिलाखान मुख्य बजार थियो । अहिले सबै ठाउँमा सडकको पहुँच पुगेपछि दुदिलाखान सुनसान बनेको छ ।’

दुदिलाखान बजारमा नुनदेखि लिएर दैनिक उपभोग्य सामग्री ल्याउनका लागि पुग्नेहरुका याद ताजै छन् । तर दुदिलाखान बजारका पसल भने जीर्ण भइसकेका छन् । दुदिलाखान बजारैबाट घरपरिवारका लागि चाहिने सामग्री ल्याएको याद ताजै रहेको सुर्नया स्थानीय गौरीदत्त अवस्थीले बताए । उनले भने ‘खोड्पेबाट दुदिलाखान सडक पुगेपछि मुख्य बजार दुदिलाखान नै थियो । तर अहिले सुनसान छ ।’

जयपृथ्वी राजमार्गबाट सिगास गाउँपालिकाको प्रवेशद्वारको रुपमा रहेको दुदिलाखान बजार अहिले सुनसान बनेको स्थानीयहरुले बताएका छन् । सिगासको गाँजरीमा बजार विस्तार भएपछि दुदिलाखान बजार बन्द भएको स्थानीय गणेशसिंह धामीले बताए । 

दुदिलाखान बजार सुनसान भएसंगै बजारमा रहेका झण्डै एक दर्जन पसल जीर्ण भइसकेका छन् । त्यहाँका व्यापारीहरु अन्यत्र पलायन भइसकेका छन् । कुनै बेला भारतको झुलाघाटको सामग्री समेत दुदिलाखानमा पाइने गरेकोमा पछिल्लो समयमा सुनसान बनेको हो । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update