Sagun Khabar
मेलौली बस दुर्घटना : घाइते तीनजनाको भारतको बरेलीमा उपचार हुँदै, २९ जना डिस्चार्ज

बैतडी –गएको सोमबार मेलौलीमा भएको बस दुर्घटनाका घाइते मध्ये तीन जनाको भारतको बरेली उपचार भइरहेको छ । गम्भीर घाइते भएका पञ्चेश्वर ६ का देवसिंह भण्डारी, शिवनाथ १ का मनबीरसिंह साउँद र शिवनाथ ५ का विनोद दमाईको भारतको बरेलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

घाइतेमध्ये ११ जनाको धनगढीस्थित मायामेट्रो हस्पिटल र २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक जोशीले बताए । 

पञ्चेश्वर गाउँपालिका ३ का कृष्णा शाही र पञ्चेश्वर १ का सेतु चन्दको डडेल्धुरा अस्पातलमा उपचार भइरहेको छ । 

यस्तै शिवनाथ गाउँपालिका ३ का गोरखसिंह साउँद, शिवनाथ ५ का संगीता रावत, कञ्चनपुरको वनसमितिका दिपिका भट्ट, मेलौली ३ का विष्णु भट्ट, पञ्चेश्वर ५ का पूजा साउँद, सोही ठाउँका मीना चन्द, पञ्चेश्वर ३ का भरतसिंह साउँद, पाटन १ का चन्द्रदेव पन्त, पञ्चेश्वर ६ का पार्वती भण्डारी, सोही ठाउँका क्रिस भण्डारी र मेलौली ४ का अमित चन्दको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । 

दुर्घटना परी घाइते भएका ४५ जना मध्ये २९ जना डिस्चार्ज भइसकेका छन् । एकजनाको भने घटनास्थलमै मृत्यु भएको थियो । सोमबार मेलौली नगरपालिका ७ स्वाखानीमा बस दुर्घटना हुँदा बस रुखमा अड्किएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो । 

कच्ची सडकमा भएको बस दुर्घटनाको कारण भने अझै खुल्न बाँकी रहेको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update