Sagun Khabar
जयपृथ्वी राजमार्गमा खसेको पहिरोले बैतडीको छीडा बस्ती जोखिममा 

बैतडी –जयपृथ्वी राजमार्गमा खसेको पहिरोले बैतडीको एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ । राजमार्ग अन्तर्गत बैतडी सुर्नया गाउँपालिका ७ भञ्ज्याङमा खसेको पहिरोले सडक तलतिर रहेको छीडा बस्ती जोखिममा परेको वडा अध्यक्ष भक्तबहादुर कुँवरले बताए । 

सडकमाथिबाट खसेको पहिरोले १० भन्दा बढी घरहरु जोखिममा रहेका छन् । लगातार सडकबाट पहिरो खस्दा स्थानीयहरुको मकैबारी बगाएको छ भने घरहरु पहिरोको जोखिममा रहेका वडा अध्यक्ष कुँवरले बताए । 

लगातारको बर्षासंगै सडकबाट खसेको पहिरोले आफूहरुको उठीबास हुने अवस्था आएको स्थानीय हिक्मत कुँवरले बताए । सडकबाट खसेको पहिरोले मकैबालीसहित खेत बगाएको उनले बताए । उनले भने ‘पहिरोले हाम्रो बस्ती नै जोखिममा परेको छ । पहिरोबाट हुने क्षति कम गर्नका लागि सरकारसंग माग गर्दछौं ।’

पहिरोले अहिलेसम्म खेतबारीमा नोक्सानी पुर्याइसकेको छ भने बस्ती नै जोखिममा परेपछि स्थानीयहरु त्रसित बनेका छन् । सडक सुधारका लागि नयाँ कटिङ गरेको सबै माटो बगेर खेतबारीमा पुगेको स्थानीय दलबहादुर कुँवरले बताए । सडक तलतिरको बस्तीमा निकै जोखिम रहेको उनले बताए । 

छीडा बस्तीमा पहिरोको जोखिमका बिषयमा पालिकाको विपद् व्यवस्थापन समितिलाई समेत जानकारी गराइसकेको वडा अध्यक्ष कुँवरले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update