बैतडी –बैतडीको पाटनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । बुधबारदेखि पाटन शाखाबाट सेवा सुचारु भएको राष्ट्रिय वाणिज्य बैंक पाटन शाखाका प्रबन्धक तपेन्द्र शाहले बताए ।
जिल्लाको पाटनमा राष्ट्रिय वाणिज्य बैंकको शाखाले सेवा दिन थालेपछि बैतडीको पाटन, सुर्नया, मेलौली, शिवनाथ, पञ्चेश्वर,सिगास र पुर्चौंडीका नागरिकहरुलाई सहज हुने विश्वास गरिएको छ । यसअघि गोठलापानीमा मात्रै राष्ट्रिय वाणिज्य बैंकको शाखाले सेवा दिइरहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको २ सय ७३ औं शाखाको रुपमा पाटन शाखाबाट सेवा सुचारु भएको प्रबन्धक शाहले बताए ।पाटनमै राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सेवा सुचारु भएपछि स्थानीय नागरिक समेत खुसी भएका छन् । बैंकिङ सेवामा सहज पहुँच पुर्याउने उद्देश्यसहित शाखा स्थापना भएको शाहले बताए ।
पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले पहिलो खाता खोलेका छन् । पहिलो दिनमै २० लाख जतिको कारोबार भएको राष्ट्रिय वाणिज्य बैंक पाटन शाखाका प्रमुख शाहले बताए ।
शाखाको सेवा सुचारु कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा लगायतका जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो । शाखा स्थापना भएको पहिलो दिनमै धेरै सेवाग्राहीले सेवा लिएकाले आफूहरु उत्साहित भएको शाहले बताए । उनले भने ‘हामीले सहज रुपमा नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नेछौं । यसका लागि शाखा स्थापना भएको हो । नजिकको शाखामा आएर सेवा लिन आग्रह गर्दछौं ।’
पाटनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएपछि अब सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको सिगासकी लक्ष्मी शाह चन्दले बताइन् । सरकारी कार्यालयहरुको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट बढी हुने भएकाले अब पाटनमै शाखा विस्तार भएपछि सहज भएको उनले बताइन् ।




