बैतडी- बैतडीको पाटन नगरपालिकामा नगरस्तरिय युवा सञ्जाल गठन गरिएको छ । वडा नं ९ घर भएका युवा सञ्जु भण्डारीको अध्यक्षतामा नगर युवा सञ्जाल गठन गरिएको हो ।
निर्वाचन मार्फत भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा सहमति नजुेटपछि पाटन नगरपालिकाको नगरसभा हलमा बुधबार निर्वाचन गरिएको हो । भण्डारी १५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन । उनका प्रतिद्धन्दी हरिश सिंह बिष्टले ५, बसन्त पाण्डेयले ४ र बसन्त सिंह भट्टले ३ मत ल्याएका बताइएको छ ।
उपाध्यक्षमा चन्द्रावती भट्ट, सचिवमा निरञ्जन प्रशाद पन्त, सहसचिवमा धाना ऐरी, कोषाध्यक्षमा मोहन भट्टराई, सदस्यमा बसन्त प्रशाद भट्ट, बसन्त पाण्डे,हरिश सिंह बिष्ट, र बिक्रम चन्द चयन भएका छन् । युवा नगर सञ्जाल समितिमा अहिले १० जना चयन भएका र एक जना सदस्य मनोतिन हुने बताइएको छ ।
अध्यक्षमा निर्वाचित भण्डारीले युवाहरुको आवाज उठाएर युवा लक्षीत कार्यक्रम सञ्चालनका लागि सरकारहरु संग पहल तथा दवाव दिने बताए । सञ्जु अनेरास्वीयु जिल्ला कमिटि उपसचिव समेत हुन् ।




