बैतडी –त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेका बैतडीका तीन क्याम्पसले नवीकरण नगरेका पाइएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्ध प्राप्त गरेका तर नवीकरण नगरेका क्याम्पसको सूचीमा बैतडीका तीन क्याम्पस पनि रहेका छन् ।
त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची सार्वजनिक गरेको हो । ती मध्ये बैतडीको सुर्नया गाउँपालिका ६ स्थित शंकर बहुमुखी क्याम्पस, वडा नं ५ स्थित रौलाकेदार बहुमुखी क्याम्पस र दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित निङ्गलाशैनी क्याम्पस नवीकरण नगरेका क्याम्पसहरुको सूचीमा रहेका छन् ।
यसअघि त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे खारेज किन नगर्ने ? भनेर सूचना प्रकाशित गरेको थियो ।
त्यसअनुसार सम्बन्धन नवीकरण नगरेका क्याम्पस÷कलेजको सूची सार्वजनिक गरिएको र त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पस÷कलेजलाई नियमअनुसार कारबाहीको प्रकृया अगाडि बढाउने सूचनामा उल्लेख छ ।
साथै कुनै क्याम्पस नवीकरण प्रकृयामा भएको भएमा आधिकारिक कागजपत्र र प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
बैतडीका यी क्याम्पसहरु विद्यार्थी अभावमा बन्द जस्तै अवस्थामा रहेका छन् ।




