बैतडी –नेपाल प्रज्ञा–प्रतिष्ठानले काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत बैतडीका मूर्तिकार जयबहादुर पार्कीलाई सहयोग गरेको छ । राष्ट्रिय प्रतिभा उपचार कोषअन्तर्गत प्रज्ञा–प्रतिष्ठानले पार्कीलाई ५० हजार सहगोग गरेको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरू अस्पतालमै पुगेर मूर्तिकार पार्कीलाई सहयोग गरेका हुन् । वैशाख अन्तिम साता अचेत अवस्थामा भेटिएका काष्ठ कलाकर्मीका रूपमा परिचित बैतडीको दोगडाकेदार गाउँपालिका–८ का ३९ वर्षीय पार्कीको वीर अस्पतालमा उपचार जारी छ ।
करिब एक महिना सेती प्रादेशिक अस्पताल कैलालीमा उपचार गराएपनि सुधार नहुँदा थप उपचारका लागि वीर अस्पताल लगिएको हो । नेपाल क्रिकेट संघका अध्यक्षसमेत रहेका नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पार्कीलाई काठमाण्डौं पुर्याउन हवाई टिकटको व्यवस्था गरेका थिए ।
त्यसपछि उनले वीर अस्पतालमा भर्ना गरेको परिवारका सदस्यले प्रकाश पार्कीले बताए । यसैगरी विभिन्न क्षेत्रबाट उनको उपचारको लागि उपचार खर्चसमेत संकलन भइरहेको उनले बताए ।
हालसम्म विभिन्न सामाजिक अभियान्ताहरूको मद्दतमा उपचार खर्च उठेको र अझैपनि एक महिनासम्म अस्पतालमै बस्नुपर्ने बताइएको छ । थप उपचारको लागि पनि आर्थिक सहयोगको अपिल गरिएको छ ।
आर्थिक सहयोग गर्नुहुने सबैलाई परिवारका सदस्यले कृतज्ञता प्रकट गरेका छन् । आफन्तहरुले राज्यका तीनै तहबाट समेत उपचार खर्चको व्यवस्था गरिदिन आग्रह गरेका छन् । पार्कीको उपचारको लागि सरकारी पक्षबाट कुनै सहयोग प्राप्त नभएको परिवारजनले गुनासो गरेका छन् ।
पार्कीले दर्जनौँ मन्दिरमा देवीदेवताका मूर्ति, टुँडाल तथा चित्रकला बनाइसकेका छन् । ।उनी काठ, सिमेन्ट र धातुका मूर्ति बनाउने कलाकर्मी हुन् ।




