बैतडी –बैतडीमा जबरजस्तीकरणीमा परेकी बालिकालाई प्रलोभनमा पारेर बयान फेर्न लगाएको पीडित पक्षले आरोप लगाएको छ । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया बालिकामाथि गएको पौष १५ गते काका नाता पर्ने २२ बर्षीय युवकले जबरजस्तीकरणी गरेको आरोप लागेको थियो ।
उक्त घटनामा पीडकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरि मुद्दा चलाएको थियो । सोही मुद्दामा बयान लिने क्रममा पीडित बालिकालाई प्रलोभनमा पारेर बयान फेर्न लगाइएको पीडितका बुवाले बताएका छन् । पीडक पक्षले पीडित बालिकालाई आर्थिक प्रलोभन देखाएको अडियो समेत आफूसंग रहेको उनले बताए ।
पीडित बालिकालाई प्रलोभनमा पारेर बयान फेर्न लगाएको भन्दै अडियोसहित पीडित र पीडितका पक्षबाट अदालतमा निवेदन समेत गरिएको छ । बालिकालाई आर्थिक प्रलोभन देखाएकाले उनीमाथि जबरजस्तीकरणी गरेको पुष्टि भएको भन्दै पीडित परिवारले निवेदन पेश गरेका हुन् ।
नाबलिगको हकमा बयान लिने क्रममा आफन्त संलग्न रहनुपर्ने कानुनी व्यवस्था भएपनि आफ्नो उपस्थिती बिना बकपत्र गराएको पीडितका बुवाले बताएका छन् । तर बकपत्रमा पीडितका आफन्तको औंठा छाप लगाएको पाइएको छ । पीडितका बुवाले भने औंठा छाप किर्ते गरेको समेत आरोप लगाएका छन् । उनले भने ‘गएको जेठ १६ गते बकपत्र हुँदा म बाहिर थिए । मलाई भित्र जान दिइएन् । तर बकपत्रमा औंठा छाप लगाएको छ । यो किर्ते गरिएको छ ।’




