बैतडी –जनता आवास कार्यक्रममा लाभग्राही छनौट गर्दा विभेद गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी परेको छ ।
डिलाशैनी गाउँपालिका वडा नं ३ की जानकी पालले छानबीन गरी आवश्यक कारवाही गरीपाउँ भन्दै दुवै ठाउँमा निवेदन दिएकी हुन् ।
जनता आवास कार्यक्रम अन्तर्गत गठन भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकरराम भुलमार्फत शहरी विकास तथा भवन निर्माण कार्यालयमा फाइल पेश गर्दा वडा अध्यक्षले जानकीका नाममा सम्झौता नगर्न पत्र पठाएको जानकी पालले बताइन् ।
पारिवारिक अवस्था कमजोर हुँदाहुँदै वडा अध्यक्षले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अन्याय गरेको भन्दै जानकीले स्थानीय प्रशासनलाई गुहारेकी हुन् ।
उनले प्रशासन र अख्तियारमा दिएको उजुरीमा एकै घरका दुई जना सदस्य लाभग्राही छनौट गरिएको, आर्थिक रुपले सम्पन्न परिवारलाई समावेश गरिएको उल्लेख गरिएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत छनौट गरिएका लाभग्राहीको अवस्था स्थलगत रुपमा निरीक्षक आवश्यक छानबीन गरी दोषीमाथि कारवाही गर्नुका साथै आफूलाई कार्यक्रममा समावेश गराइदिन उजुरीमा उल्लेख गरिएको छ ।
यता डिलाशैनी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रघुबीर बोहराले भने जानकी पालले छाना मर्मतमा दुई पटक जनता आवास कार्यक्रमबाट सहयोग पाइसकेकाले सम्झौता नगर्न भनिएको बताए ।
यता प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जनता आवास कार्यक्रम छनौटमा विभेद भएको भन्दै जानकी पालको उजुरी आएको र शहरी विकास तथा भवन निर्माण कार्यालयलाई यो बिषयमा बुझ्न निर्देशन दिइसकेको बताए ।
तर पालले दाबी विरोधको समय सकिएपछि मात्रै उजुरी दिएको प्रशासनले जनाएको छ ।





