Sagun Khabar
धौलीगंगाको बाँध भोलि बिहान खोलिने, तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह 

बैतडी – भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध भोलि मङ्गलवार बिहान खोलिने भएको छ ।  भारतले भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धौलीगङ्गाको बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएको हो । 

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेशनले पठाएको जानकारी अनुसार सिल्ट सफाइका लागि बाँधका ढोकाहरु खोल्न लागिएको हो । 

बाँधको ढोका खोलिने भएपछि जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै महाकाली नदी किनाराका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले बताए । 

महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी किनारका बासिन्दाहरुलाई भोलि दिनभरी नै सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । 

Dhauli suchana1688953096.jpg

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update