बैतडी -बैतडी विमानस्थल बाख्रा चराउने स्थल बन्न थालेको छ । जहाज नै नआउने भएपछि विमान स्थल गौचरनमा परिणत हुँदै छ । जिल्लाको पाटनमा रहेको एयरपोर्टमा बाख्रा चरिरहेको तस्बिर अहिले भाइरल बनेको छ ।
करोडौँ लगानिमा विमान स्थल निर्माण भएपनि यहाँँका जनताले सेवा पाएका छैनन् । यात्रु अभावले बैतडीको पाटन–धनगढी उडान डेढ वर्षदेखि ठप्प रहेको छ ।
पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउँदै उडान नभरेको समिट एयरले जनाएको छ । यात्रु नभएकै कारण समिट एयरले धनगढी–पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए ।
पाटनदेखि धनगढी पुग्न १७ मिनेटको हवाई यात्रा छ । भाडा भने पाँच हजार तोकिएको छ। ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ ।
यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा छन् । हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकाहरुलाई सुविधा सम्पन्न अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको हो ।




