Sagun Khabar
जयपृथ्वी राजमार्गमा पहिरोको जोखिम 

बैतडी –बैतडी –बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा बर्षातको समयमा जोखिम बढ्दै गएको छ । सो राजमार्गको ठाउँठाउँमा खस्ने पहिरोले जोखिम बढेको गाडी चालकहरुले बताएका छन् । 

बझाङ जिल्लाको मुख्य राजमार्गको रुपमा रहेको सो राजमार्ग बर्षातको समयमा अवरुद्ध हुने गरेको छ । राजमार्गको ठाउँठाउँमा खस्ने पहिरोले बर्षातको समयमा यात्रा गर्न निकै जोखिमपूर्ण हुने गरेको सिगास ९ का स्थानीय करन चन्दले बताए । 

Atrya hospital

बैतडीको पुर्चौंडी, सिगास र बझाङ जिल्ला जोड्ने सो राजमार्गको ठाउँठाउँमा पहिरोको जोखिम छ । मोड सुधारको क्रममा राजमार्गका विभिन्न ठाउँमा नयाँ कटिङ गरिएकाले पहिरोको जोखिम झन् बढेको चन्दले बताए । 

सो राजमार्ग अन्तगर्त बैतडीको झौलेक, ज्यापु, मुसे, ढोल्यामोड लगायतका ठाउँमा पहिरोको जोखिम छ भने बझाङको बित्थडचीर लगायतका ठाउँमा पनि पहिरोको जोखिम रहेको स्थानीय भानबहादुर बोहराले बताए । 

बर्षात बढी भएको दिनमा राजमार्ग अवरुद्ध हुने गरेको बोहराले बताए । बर्षात हुने बित्तिकै माथिबाट खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको बोहराले बताए । उनले भने ‘जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । राजमार्गका ठाउँठाउँमा पहिरोको जोखिम छ ।’

हरेक बर्खायाममा पहिरोका कारण बेलाबेलामा राजमार्ग अवरुद्ध हुने गरेको स्थानीय नरेश चन्दले बताए । पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुलाई सास्ती हुने गरेको छ भने दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । 

जयपृथ्वी राजमार्ग अवरुद्ध भएमा तुरुन्त खुलाउने गरिएको सडक डिभिजन कार्यालय पाटन बैतडीले जनाएको छ । सडक खुलाउनका लागि स्काभेटर तथा डोजरले तुरुन्त पहिरो हटाउने गरिएको सडक डिभिजन कार्यालयका पाटन बैतडीका इन्जिनियर मुकेन्द्रविक्रम मल्लले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update