Sagun Khabar
पुर्चौंडीको केन्द्र जोड्ने सडकमा जोखिमै जोखिम 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाट जोड्ने श्रीभावर–हाट सडकमा यात्रा गर्न निकै जोखिम रहेको छ । पुर्चौंडीको ‘लाइफलाइन’को रुपमा रहेको श्रीभावर–हाट सडक समयमै स्तरोन्नती नहुँदा बर्षातको समयमा यात्रा गर्न निकै समस्या हुने गरेको स्थानीयहरुले बताएका छन् । 

सडक स्तरोन्नती गर्ने कार्य अन्तर्गत नयाँ कटिङ भएकाले ठाउँठाउँमा खसेका पहिरोले सवारी साधन सञ्चालनमै समस्या भएको गाडी चालकहरुले बताएका छन् । ढोल्यामोडदेखि हाट सम्मको २२ किलोमिटर सडकमा निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय परमानन्द जोशीले बताए । उनले भने ‘पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडकमा बर्षातको समयमा यात्रा गर्नु निकै जोखिमपूर्ण छ । ठाउँठाउँमा खसेका पहिरोले सडक अवरुद्ध हुने गरेको छ ।’

Atrya hospital

श्रीभावर–हाट सडकको ठाउँ–ठाउँमा पहिरो खसेका कारण बर्षातको समयमा यात्रा गर्नु निकै कष्टकर रहेको स्थानीय हरिश भट्टले बताए । सडक समयमै स्तरोन्नती नहुँदा समस्या भएको उनको भनाइ छ । उनले भने ‘बर्षातको समयमा ढोल्यामोडदेखि हाटसम्म यात्रा गर्नु निकै जोखिमपूर्ण छ । कतिखेर कुन ठाउँमा पहिरो खस्छ ठेगान नै छैन् ।’

प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर–हाट सडकलाई स्तरोन्नती गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । नयाँ कटिङ भएकाले केही ठाउँमा पहिरो खसेको भएपनि सम्बन्धित निर्माण कम्पनीले त्यसलाई पन्छ्याएर सुचारु गर्ने गरेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले बताए । 

श्रीभावर–हाट सडक अन्तर्गत ढोल्यामोडदेखि अगाडि ८ किलोमिटर कालोपत्रे गर्नका लागि चन्द्रा एण्ड वसन्ता ग्वाल्लेक जेभीले काम गरिरहेको छ । यही असार मसान्त सम्म ठेक्काको म्याद भएपनि काम नसकिएपछि म्याद थपको प्रक्रिया भएको सूचना अधिकारी जोशीले बताए । 

सो खण्डको ८ किलोमिटर सडक कालोपत्र गर्नका लागि १३ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको थियो । यस्तै ५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि जगदम्बा निर्माण कम्पनीले काम गरिरहेको छ । गत बर्ष सो कम्पनीसंग २० करोड ४२ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको सूचना अधिकारी जोशीले बताए । 

सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको अवधिभित्र काम सम्पन्न नहुँदा पुर्चौंडीबासीले सास्ती भोग्दै आएका छन् । हरेक बर्षातमा सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश जोशीले बताए । 

पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडकमा बर्षातको समयमा आउने पहिरो पन्छ्याउनका लागि नगरपालिकाले समेत पहल गरिरहेको नगर प्रमुख दिपकबहादुर बमले बताए । उनले भने ‘हामीले सकभर सडक अवरुद्ध हुने बित्तिकै सडक सुचारु गर्नका लागि पहल गरिरहेका छौं । स्तरोन्नतीको काम समयै सम्पन्न भएमा यो समस्या समाधान हुन्छ ।’
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update