Sagun Khabar
बैतडीका ६ ओटा स्वास्थ्य संस्था पोषणमैत्री घोषणा 

बैतडी –बैतडीका ६ ओटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ छ । जिल्लाको पुर्चौडी नगरपालिकास्थित हाट स्वास्थ्य चौकी, शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभुत स्वास्थ्य केन्द्र, दशरथचन्द नगरपालिकाको दशरथचन्द स्वास्थ्य चौकी, सुरकाल आधारभुत स्वास्थ्य केन्द्र, त्रिपुरासन्दरी स्वास्थ्य चौकी र पाटन नगरपालिकाको सकार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका बमोजिमका १० वटा पूर्वतयारीका अनिवार्य मापदण्ड र पोषणमैत्री निर्धारणका १६ वटा सूचकहरु पूरा गरेपछि स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि स्वास्थ्यकर्मीहरु मध्येबाट एकजना सम्पर्क व्यक्ती तोकिएको, स्वास्थ्य संस्थामा पोषण विषेश सेवा दिनका लागि आवश्यक पोषणसम्बन्धी एकजना तालिमप्राप्त जनशक्ति हुनुपर्ने,स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छतासम्बन्धी पूर्वाधार पूरा गरेको,बच्चाको तौल लिने मेसिन,उचाई, लम्बाई लिने मेसिन उपलब्ध भएको,पोषण विषेश सेवा प्रदान गर्नका लागि आवश्यक औषधि तथा सामग्रीहरु एक महिनाका लागि पुग्ने गरि मौज्दात भएको,मासिक रुपमा कम्तीमा कम्तीमा एकपटक स्वास्थ्य संस्थासञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेर पोषण सम्बन्धी छलफल भएको,पोषण कर्नर स्थापना भएको लगायतका १० वटा पूर्वतयारीका मापदण्ड पूरा गरेको हुनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । 

यस्तै गर्भवती महिलाले नेपाल सरकारको प्रोटोकल अनुसार कम्तीमा ८ पटक गर्भ जाँच गरेको, सुत्केरी महिलाले सुत्केरी भएपछि ३ पटक जाँच गरेको, गर्भवती तथा सुत्केरी अवस्थामा १८० दिन नियमित आइरन चक्की सेवन गरेको,स्वास्थ्य संस्थाको सेवा क्षेत्रभित्र रहेका गर्भवती आमाहरु संस्थामै सुत्केरी भएको, आमाले बच्चा जन्माएको १ घण्टाभित्रै स्तनपान गराएको पोेषणमैत्री स्वास्थ्य संस्था घोषणाका सूचकहरु रहेका छन् । 

यस्तै बालबालिकाले भिटामिन ए र जुकाको औषधि खाएको,नियमित बृद्धि अनुगमन गरेको,पूर्ण खोपयुक्त स्वास्थ्यसंस्था भएको लगायतका १६ ओटा सूचक पूरा गरेका स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

पोषणमैत्री स्वास्थ्यसंस्था घोषणाका लागि संघीय सरकारले पालिकाहरुलाई बजेट पठाउने गरेको छ । सबै स्थानीय तहमा बजेट पठाएको भएपनि अहिले सम्म दशरथचन्द नगरपालिकाले ३ ओटा, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पुर्चौंडी नगरपालिकाले एक÷एक ओटा स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गरेका छन् । 

जिल्लाभरी १ सय ६ ओटा स्वास्थ्य संस्था रहेकोमा ६ ओटामात्रै चालु आर्थिक बर्षमा पोषणमैत्री घोषण गरिएका छन् भने बाँकी एक सय ओटा स्वास्थ्य संस्था पोषणमैत्री घोषणा हुन बाँकी रहेका छन् ।  

बालबालिकाहरुलाई कुपोषित हुनबाट जोगाउनका लागि पोषणमैत्री स्वास्थ्य संस्थाहरु घोषणा गर्ने गरिएको हो । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका मापदण्ड र सूचक पूरा भएमा बालबालिका तथा आमाहरु कुपोषित नहुने स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update