बैतडी –बैतडी सदरमुकामको दशरथचन्द नगरपालिका–४ जर्गस्तिथ भीटा भीरको बाटो निर्माण गरिएको छ । बाटोको भीर भएको ठाउँमा तारजालीसतिह रेलिङ लगाएर निर्माण गरिएको हो ।
तीन गाउँका बासिन्दाले दैनिक सदरमुकाम आवतजावत गर्ने बाटोको रुपमा रहेको भीटा भीरमा तारजालीसहितको रेलिङ लगाएर निर्माण गरिएको दशरथचन्द नगरपालिका वडा नं ४ का वडा सदस्य देवराम लुहारले बताए । बाटो निर्माण भएपछि स्थानीयहरुलाई आवतजावतमा सहज भएको उनको भनाई छ ।
१० लाख रुपैंया बजेटमा बाटो निर्माण गरिएको लुहारले बताए । भीटा भीरको बाटो असहज भएका कारण यसअघि धेरैले लडेर अकालमै ज्यान समेत गुमाएका घटना भएकाले बाटोमा तारजाली सहित रेलिङको व्यवस्था गरिएको उनले बताए ।
भीटा भीरको बाटो अप्ठ्यारो भएकै कारण ६ महिना अघिमात्रै बाटोबाट लडेर एकजना स्थानीयको ज्यान गएको थियो ।
जिल्ला सदरमुकाम नजिकैको बाटो निर्र्माण नहुँदा स्थानीयहरुले समस्या खेप्दै आएका थिए । स्थानीयहरुको समस्यालाई मध्यनजर गरेर बाटोमा तारजालीसहितको रेलिङ लगाएको दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भानदेव भट्टले बताए ।
३५० मिटरको लम्बाईमा बाटो अप्ठ्यारो रहेको र अहिले करीब २ सय २५ मिटरमा तारजालीसहित रेलिङ लगाएको वडा सदस्य लुहारले बताए । आगामी बर्ष थप बजेट विनियोजन गरेर बाटोलाई पूर्णता दिइने उनले बताए ।
सो बाटोबाट तरकारी विक्रि गर्नका लागि दैनिक सैयौं किसानहरु आवतजावत गर्ने गर्दछन् । बाटो निर्माण भएपछि उनीहरुलाई पनि सहज भएको वडा सदस्य लुहारको भनाइ छ । यस्तै विद्यालय जाने बालबालिकाहरुलाई पनि बाटो निर्माण भएपछि सहज भएको वडा सदस्य लुहारले बताए ।




