बैतडी –डिभिजन वन कार्यालय बैतडीले आफ्नो नर्सरीमा एक लाख बोटबिरुवा उत्पादन गरेको छ । विभिन्न जातका फलफूल र जडीबुटीका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।
डिभिजन वन कार्यालयको हाताभित्र रहेको नर्सरीमा बोटविरुवा उत्पादन गरेर वृक्षारोपणका लागि निशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको उनले बताए ।
नर्सरीमा चाप, ओखर, टिमुर, श्रीखण्ड, खर्सु, लप्सी, रीठा, डालेघाँस, तेजपात लगायतका बिरुवा रहेका डिभिजन वन कार्यालयकी सूचना अधिकारी रविना पन्थीले बताइन् । डिभिजन वन कार्यालयको नर्सरीमा भएका बोट विरुवा इच्छुक व्यक्ति, सामुदायिक वन समूह, कबुलियती वन समूह लगायतलाई निशुल्क रुपमा वितरण गर्ने कार्य भइरहेको उनले बताइन् । उनले भनिन् ‘हाम्रो नर्सरीमा भएका बोटविरुवा निशुल्क रुपमा वितरण गरिरहेका छौं । फलफूल र जडीबुटीका बिरुवा तथा डालेघाँसका विरुवाहरु निशुल्क रुपमा दिने गरेका छौं ।’
बैतडीका सामुदायिक वनहरुमा उत्पादन दिने खालका बोटविरुवा नभएकाले जडीबुटीका बिरुवा रोप्नका लागि आग्रह गरिएको कार्यालय प्रमुख कँडेलले बताए । सामुदायिक वनहरुलाई व्यवस्थित बनाउन जडीबुटी र उत्पादन दिने खालका बिरुवा लगाउन आग्रह गरिएको उनले बताए । इच्छुक सामुदायिक वन उपभोक्ता समूहहरुलाई निशुल्क रुपमा बोट विरुवा वितरण गर्ने कार्य भइरहेको उनले बताए ।
सामुदायिक वनहरुलाई उत्पादनमूलक जडीबुटीका बोटविरुवा डिभिजन वन कार्यालयको नर्सरीबाट निशुल्क रुपमा प्रदान भइरहेका समेत उनले बताए । उनले भने ‘सामुदायिक वनहरुलाई उत्पादनमुखी बनाउन हामीले जडीबुटी र फलफूलका बिरुवाहरु निशुल्क रुपमा वितरण गरिरहेका छौं ।’
यस्तै व्यवसायिक ओखरखेती गर्ने किसानहरुलाई दाँते ओखरका बिरुवा वितरण गर्ने कार्य समेत भइरहेको छ ।




