Sagun Khabar
पञ्चेश्वर आयोजनाको काम अघि बढ्नुपर्नेमा बैतडीबासीको जोड 

बैतडी –बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढ्नुपर्नेमा बैतडीबासीहरुले जोड दिएका छन् । लामो समयपछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना सञ्चालक समितिको बैठक बस्ने मिति तय भएपछि आयोजनाको काम अघि बढ्नुपर्नेमा बैतडीबासीहरुको जोड रहेको हो । 

३१५ मिटरको बाँध बनाएर ६ हजार ४८० मेगावाट विद्युत उत्पादन हुने आयोजना चर्चामा रहेको धेरै बर्ष भएपनि काम भने अपेक्षाकृत रुपमा हुन सकेको छैन् । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढेमा यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने ‘म सानै छँदादेखि यो आयोजनाको चर्चा सुनेको हो । तर अहिले सम्म काम अघि बढ्न सकेको छैन् । त्यसैले आयोजनाको काम अघि बढाउन अब ढिला गर्नुहुँदैन् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणको समयमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपीआरलाई तीन महिनाभित्र अन्तिम रुप दिने सहमति भएको थियो । सोही सहमति अनुसार सञ्चालक समिमितको बैठक बस्न लागेको हो । असार २१ र २२ गते पोखरामा बैठक बस्ने तयारी छ । 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको चर्चा धेरै भएकाले अबको बैठकले ठोस निर्णय गरेर अघि बढ्नुपर्ने स्थानीय जानकार समेत रहेका शिक्षक चन्द्रमोहन तिवारीले बताए । पञ्चेश्वर आयोजनाको आसा देखाएको बर्षौं बितिसक्दा समेत कार्यान्वयन नभएकाले अब आयोजना कार्यान्वयन गर्ने हिसाबले अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘पञ्चेश्वर आयोजनाको नाम सुनेको धेरै बर्ष भइसकेको छ । ठोस हिसाबले काम हुन सकेको छैन् । अब आयोजना कार्यान्वयन गर्ने हिसाबले काम गर्नुपर्छ । बैठकका लागि मात्रै बैठक नहोस भन्ने चाहना हो ।’

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना बन्ने र यसले यो क्षेत्रको विकासमा टेवा पुग्ने भन्ने कुरा बालकालमै सुनेकाहरु बुढा भइसकेका छन् । तर आयोजनाले मूर्त रुप लिन सकेको छैन् । जहिले पनि चर्चा मात्रै हुने गरेकाले अब काम हुनुपर्ने पञ्चेश्वरका स्थानीय रमेशसिंह भण्डारीले बताए । उनले भने ‘अब पञ्चेश्वर आयोजनाको काम हुने हिसाबले अघि बढ्नुपर्छ । चर्चा मात्रै गर्ने काम बन्द गर्नुपर्छ ।’

सन् १९५६ मै भारतीय पक्षले पञ्चेश्वरको बाँधस्थल पहिचान गरेको थियो । सुरुमा सन् १९७१ को आयोजना प्रतिवेदनमा १ हजार मेगावाट क्षमता रहने भनिएको थियो । सन् १९९१ मा यस आयोजनाको बाँध ३ सय १५ मिटरको बनाइँदा कुल उत्पादन ६४८० मेगावाट हुने देखिएको थियो ।

सन् १९९५ मा यस आयोजनाको नेपालकातर्फबाट विस्तृत आयोजना प्रतिवेदन बने पनि हालसम्म आयोजना अघि बढ्न सकेको छैन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update