बैतडी –सुदुरपश्चिमका ९ वटै जिल्लामा सेवा दिइरहेको बृहत जलाधार व्यवस्थापन केन्द्र महाकाली पाटन बैतडीले खानेपानीका मूहान संरक्षणका साथै बाढी पहिरो नियन्त्रणका लागि काम गरिरहेको छ ।
भूक्षयबाट हुने धनजनको क्षति रोक्नका लागि कार्यालयले काम गरिरहेको कार्यालय प्रमुख पासाङ तामाङले जानकारी दिए । कार्यालयले प्रदेशका ९ ओटै जिल्लामा पहिरो नियन्त्रण, गल्छी नियन्त्रण, खोला किनार संरक्षण, खहरे नियन्त्रण र पानीका मूहान संरक्षण गर्ने कार्य गरिरहेको उनले बताए । उनले भने ‘हामीले भूक्षय रोक्नका लागि पहल गरिरहेका छौं । पानीका मूहान संरक्षणका काम पनि गरिरहेका छौं ।’
बैतडीको पाटनमा कार्यालय रहेको बृहत जलाधार व्यस्थापन केन्द्रले कार्यालय परिसरभित्रै नर्सरी समेत तयार पारेको छ । नर्सरीमा फलफूल, डालेघाँस लगायतका बोटविरुवा रहेका कार्यालय प्रमुख तामाङले जानकारी दिए ।
बर्षा लागेसंगै स्थानीयहरुलाई फलफूल तथा डालेघाँसका बिरुवा समेत वितरण गर्न शुरु गरिएको तामाङको भनाइ छ । बाढी ÷पहिरोको जोखिम भएका ठाउँमा वृक्षारोपणका लागि नर्सरीबाट बोटबिरुवा उपलब्ध गराउने गरेको उनले बताए ।
बैतडी पहिरोको उच्च जोखिममा रहेको जिल्ला भित्र पर्दछ । त्यसका साथै सुदूरपश्चिमका ९ ओटै जिल्लामा बाढी र पहिरोको जोखिम रहेकाले त्यस्ता जोखिम न्यूनीकरणका लागि कार्यालयले काम गरिरहेको कार्यालयका लेखापाल दिपक कोइरालाले बताए ।




